एनआरएनए महिला सह-कोषाध्यक्ष पदमा योगिता थापाको उम्मेदवारी

बेल्जियम –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को महिला सहकोषाध्यक्ष पदमा योगिता थापाले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । थापाले आगामी अक्टोवरमा हुने १० औं विश्व सम्मेलनमा महिला सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलनमा युरोपको महिला संयोजकमा निर्बिरोध निर्बाचित थापा त्यसअघि २०१७–१९ मा गैर आवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष पदमा कार्यरत हुनुुहुन्थ्यो ।

बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहनु भएकी थापा लुम्बिनी–कपिलवस्तु ग्लोबल क्याम्पेयन बेल्जियमको उपाध्यक्ष हुनुहुन्छ । उक्त संस्था युरोपमा बुद्धको प्रचार प्रसार र लुम्बिनीलाई चिनाउने अभियानमा पनि सक्रिय हुनुहुन्छ ।

थापा ड्रिम्स नेपालकी निर्देशक समेत हुनुहुन्छ। उहाँको नेतृत्वमा ड्रिम्स नेपालले सन २०२० मा मिस युरोप आयोजना गरेको थियो ।

सुदूरपश्चिमको दार्चुला पुख्र्यौली घर भएकी थापा १३ वर्षदेखि बेल्जियममा होटल तथा रेष्टुरेण्ट व्यवसायमा आवद्ध हुनुहुन्छ ।


प्रकाशित | ४ भाद्र २०७८, शुक्रबार २०:४६