अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाड्नु भएको छ । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उहाँले देश छाड्नु भएको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाड्नु भएको छ ।

त्यस्तै, रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन् । आज (आइतबार) दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलाई सुम्पेको बताएका थिए ।

यसैबीच आइतबार तालिबानका लडाकु राजधानी काबुल पुगेका छन् । तालिबानले तोर्खाम सीमा पार गरेर काबुल छिरेको हो ।

अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीले तालिबान लडाकुले काबुलमा चारैतिरबाट आक्रमण शुरू गरेको बताएका छन् । तालिबान लडाकुहरु काबुलको बाहिरी इलाकामा पुगेपछि आतंकित कर्मचारी सरकारी कार्यालयबाट भागिसकेका छन् ।


प्रकाशित | ३१ श्रावण २०७८, आईतवार २०:१३