मेस्सीले बार्सिलोना छोड्ने खबरले विश्व फुटबल तरंगित


एजेन्सी –
अर्जेन्टीनाका कप्तान अनि स्पेनी क्लब बार्सिलोनाका कप्तान ३४ वर्षीय लियोनेल मेस्सीले बार्सिलोना छोड्ने खबरले विश्व फुटबल तरंगित छ । उनको आगामी यात्राबारे विभिन्न पूर्वानुमानहरु पनि भइरहेको छ । विभिन्न जिज्ञासाहरु चलिरहदा प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीलाई ३४ वर्षिया खेलाडीको सम्भावित गन्तव्यको रुपमा हेर्न थालिएको छ । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीको सम्भावित गन्तव्य सिटी हुन सक्छ । तर सिटीले भर्खरैमात्र ज्याक ग्रिलिसलाई कीर्तिमानी सय मिलियन पाउण्डमा किनेको छ ।

मेस्सीको अर्को सम्भावित गन्तव्यको रुपमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई समेत हेरिएको छ । तर वित्तिय नोक्सानका कारण मेस्सी पीएसजी आउने सम्भावना कम छ । फ्रान्सेली क्लबको ध्यान केलियन एम्बाप्पेको सम्झौता नविकरणमा छ । पीएसजीले यस सिजनका लागि मात्र सर्जियो रामोस, जियानलुइगी डोनारुम्मा, आच्राफ हाकिमी र जर्जियो विडनाल्डमलाई अनुबन्ध गरेको छ ।

फ्रान्सको कर नियमले समेत मेस्सीको सरुवालाई कठिन बनाउनेछ । मेस्सीले प्रतिवर्ष ३० मिलियन युरो प्राप्त गर्दै आएका छन् । यसले गर्दा मेस्सीलाई ७० मिलियन युरो दिनुपर्ने हुन्छ । मेजर लिग सकरले समेत पछिल्लो अवस्थालाई नियालीरहेको छ । तर मेस्सीले थप दुई सिजन बार्सिलोनामै बस्न चाहेका थिए । उनी अझै केही ठुला उपाधि जित्न चाहन्छन्, त्यसका लागि आफुलाई सक्षम मान्छन् । महादेश छाड्नु अघि मेस्सी कम्तिमा सोही समय यरोपमै रहन चाहन्छन् ।


प्रकाशित | २२ श्रावण २०७८, शुक्रबार ११:५१