हङकङलाई हराउँदै नेपाल फाईनलमा

एजेन्सी: नेपाल थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिवार हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । नेपालले उपाधिको लागि आईतबार सिंगापुर र मलेसिया मध्य एक टोलीसँग खेल्ने छ । मलेसिया र सिंगापुरबीच अर्को सेमिफाईनल खेल जारी छ ।

सामान्य ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । नेपालका रोहन दुधराज विकले १२ बलमा ३ चौका सहित १४, ओपनर दिपक बोहोरा ११, सुवास ऐर १०,आईश भट्टराई १७, विशाल विक्रम केसी ७ र प्रसान्त महत १ रनमा आउट भए । कृष कार्की १२ र निखिल कुमार सिंह ४ रनमा अविजित रहे । हङकङ बृज नारायणले ३,अहान कन्हाई त्रिवेदीले २ विकेट लिए ।

त्यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हङकङ ३२.२ ओभरमा अल आउट हुँदै ८६ रनमा समेटियो । उसका लागि मिडिल अडरका आरुष भागवतले नेपाली बलरको डटेर सामना गर्दै ४३ रनमा अविजित रहे । हङकङलाई सम्मानजक लक्ष्य सम्म पुर्याउन उनले ८३ बलमा ४ चौका प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु हङकङका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन नसक्दा ४ ब्याट्सम्यान डक आउट हुन पुगे ।

ओपनर जगराज सिंहलाई विशाल कुमार पर्टेलले शून्यमा एलपी डब्लू आउट गरे । विशाललेनै तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर लुकास ग्रेबियल डेललाई १ रनमा एलपी डब्लू आउट गर्दै दवावमा राखे । बृज नारायण ८,मोहम्मद एलियान जाहिर शून्य र रौनक कपुर ४ रनमा आउट भएपछि हङकङ संकटमा परेको थियो । हङकङको विकेट निरन्तर गुमि रह्यो । अहान कन्हाई त्रिवेदी ५,वाहिद मोहम्मद शून्यमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङलाई सस्तैमा रोक्न नेपालका निखिल कुमार सिंह ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । रमेश कुर्मी र बिशाल कुमार पर्टेलले समान २ विकेट हात पारे । त्यस्तै तिलक राज भण्डारीको नाममा १ विकेट रह्यो ।नेपालले समुह चरणमा मलेसिया र म्यानमारलाई पराजित गर्दा वर्षाको कारण थाईल्यान्डसँग अंक बाडेको थियो ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १५:२६