प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गर्नु भएको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नु भएको हो । देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

देउवाको पक्षमा सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन ।

एमालेको माधवकुमार नेपाल समूहले मत दिने सम्भावना छ । संविधानको धारा ७६ (५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले साथ दिएका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १४६ सांसदमा एमालेका २३ जना थिए । प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।


प्रकाशित | ३ श्रावण २०७८, आईतवार १०:५०