शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, आज ६ बजे शपथ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनु भएको । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नु भएको हो । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनु भएको छ ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनु भयो । शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएको छ । प्रधानमन्त्रीको रुपमा उहाँको यो पाँचौ इनिङ हो । देउवा २०५२ साल भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री हुनु भएको थियो  । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री बन्नु भएको थियो ।


प्रकाशित | २९ असार २०७८, मंगलवार १४:१७