उपत्यकाको निषेधाज्ञा अझै एक साता थपिने

काठमाडौं– कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर जारी निषेधाज्ञा अझै थपिने भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका ७५ जिल्लामा जारी निषेधाज्ञा अझै एक साता थपिने भएको हो।

सार्वजनिक यातायातका साधन सञ्चालनका लागि व्यवसायीहरुले ध्यानाकर्षण गराउँदै आएको भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘आग्रहअनुसार’ तत्कालै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न नसकिने गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लोपटक पुनः एक साताका लागि निषेधाज्ञा थपिएको थियो। पछिल्लो पटक निजी सवारीका साधनहरु जोरबिजोरमा सञ्चालन गर्ने गरी निषेधाज्ञा जारी राखिएको छ। सवारीका साधनहरु जोरबिजोरमा सञ्चालन गर्दा पनि संक्रमणको जोखिम बढ्नेसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गर्दै आएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो पटक एक हप्ताका लागि थपिएको निषेधाज्ञाको अवधि असार १४ गते सकिँदैछ। त्यसअघि नै आइतबारको बैठकले निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय लिन लागेको हो ।


प्रकाशित | १३ असार २०७८, आईतवार १३:१७