एनआरएनको तर्फबाट ६ स्वर्णसहित १४ पदक जित्न सफल खेलाडीलाई सम्मान

काठमाडौं: गैर आवासिय नेपाली संघ (एनआरएन) को तर्फबाट ६ स्वर्णसहित १४ पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगीतामा सहभागिता जनाएको एनआरएनएले ६ स्वर्णासहित १४ पदक जितेको थियो । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टसहतिका पदाधिकारीहरुको उपस्थितिमा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष भट्ट, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएनका महासचिव बद्री केसी, युवा संयोजक सुदन थापा उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी कार्यक्रममा एनआरएनए यूरोप डिरासी गोविन्द्र गौतम,एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन आइसिसी सदस्य मनोज गोर्खालीलगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी सबै खेलाडीलाई सम्मान तथा नगद बितरणसँगै टेक्निकल मेम्बरहरुलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो

एनआरएन टोलीले पौडीमा ५ स्वर्ण हात पारेको छ भने एक रजत र एक कास्य पदक प्राप्त गरेको छ । यस्तै लन टेनिसमा १ स्वर्ण र २ कास्य, करातेमा १ रजत र कास्य, बक्सिङमा १ कास्य र जुडोमा १ कास्य पदक प्राप्त गरेको हो । एनआरएन टोलीले लन टेनिस, ब्याडमिन्टन, तेक्वान्दो, जुडो कराते, एडलेटिक्स, पौडीलगायतमा ८ खेलमा सहभागिता जनाएको थियो भने ती प्रतिस्पर्धामा १९ खेलाडी सहभागी भएका थिए ।

एनआरएनले स्वर्ण पदक विजेतालाई १ लाख रजत विजेतालाई ८० हजार र कास्य विजेतालाई ६० हजार नगद र प्रशंशापत्रले सम्मान गरेको छ । यस्तै सहभागी अरु खेलाडीलाई पनि जनही ५० हजार नगद प्रदान गरिएको छ । हरेक खेलका प्रशिक्षकलाई २५ हजार र कदरपत्र प्रदान गरिएको छ ।

 


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १०:०२