कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियालगायतका देशहरुमा हवाई उडान शूरु गर्ने निर्णय

काठमाडौं । कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाई उडान सुरू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार बालुवाटारमा बसेको बैठकले कतार, साउदी अरेबिया, जापान, मलेसिया लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । यी देशहरूबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु हुनेछ ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटेलमा क्वारेनटाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेनटाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

यसैगरी गैर आवासीय नेपालीहरू बाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने र इजरायल सरकारबाट सहयोग स्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रकाशित | ३ असार २०७८, बिहीबार १०:३४