एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । गुरुङले असंख्य शुभचिन्तकहरुको आग्रह, विश्वास र भरोसा अनि समाजसेवाप्रतिको आफ्नो उत्कट चाहनालाई परिपूर्ति गर्ने उद्धेश्यले एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचन २०२१–२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको उहाँले बताउनु भयो ।

‘सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै गर्दा म आज जति उत्साहित छु त्यति नै भावुक र जिम्मेवारबोधको महसुस गर्दैछु’, उहाँले भन्नु भयो, ‘म दुईदशक भन्दा लामो समयदेखि कर्मभूमिको यो आँगनमा एनआरएनए लगायतका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर आफ्नो अभिभारा निस्वार्थतवरले पुरा गर्दै आएको तपाईहरुलाई अवगत नै छ । मैले जीवनका महत्वपूर्ण समय सुखसयल र मोजमस्ती भन्दापनि अष्ट्रेलियामा रहेका नेपालीका लागि, मातृभूमिका लागि र सामाजिक सद्भावका लागि खर्च गरेको तपाईहरु सामु छिपेको छैन ।’

उम्मेदवारी घो षणा गर्दै गुरुङले एनआरएनएलाई सवै नेपालीको साझा र सवल मञ्च बनाउने प्रतिबद्धता पनि जनाउनु भएको छ । एनआरएनएको विभिन्न पदमा बस्दाआफ्नो समय, बुद्धि र विवेकले भ्याएसम्म हरेक क्षेत्रमा सकृय स्वयंसेवीको भूमिका निर्वाह गरेको बताउँदै गुरुङले भन्नु भयो, ‘विगत एकदशक भन्दा लामो एनआरएनए यात्रामा धेरै तितामिठा अनुभव संगालेको छु, नेपाली कला, भाषा र संस्कृति, खेलकुद अनि सामाजिक सद्भावका यात्रामा धेरैपटक तपाईहरुसंग नाचेको छु, हासेको छु र रमाईलो गरेको छु । अनि सातसमुन्द्र पारी सुन्दर भविश्यको खोजीमा आएका नेपालीको पिडामा धेरैपटक भक्कानिएर रोएको छु । म कर्म र इमान्दारीतामा विश्वास गर्छु र एनआरएनएलाई यहाँ रहेका सवै नेपालीको साझा र सवल मञ्च बनाउनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको छ ।’

उहाँले उम्मेदवारी घोषणा गर्दैगर्दा आफ्नो एजेण्डाका पोकोहरु वोकेर नआएको बताउनु भयो । ‘एनआरएनएका आफ्ना उद्धेश्यहरु र कार्ययोजना छ । यो एउटा पवित्र संस्थाको उचाई र गरिमालाई माथि लैजान हाम्रो समाजमा भएका धेरै विषयवस्तुहरुलाई समेट्न अझै बाँकी भएको हामी धेरैले महसुस गरेकै छौ । म अहिले नै यसो गर्छु, उसो गर्छु भन्दापनि सम्पूर्ण शुभचिन्तक तपाईहरुको आवाजलाई अनि यहाँ भएका समस्याहरुलाई सम्वोधन गर्ने एजेण्डाका साथ अघि बढ्छु भन्ने प्रण गर्दछु’, उहाँले थप्दै भन्नु भयो ।

‘मेरो एउटा राजनीतिक आस्था होला, तर सामाजिक कार्यको हकमा मैले आफुलाई विशुद्ध सामाजिक कार्यकर्ताकै भूमिकावाट कहिल्यै बाहिर लगिन र लैजाने पनि छैन’, उहाँले भन्नु भयो, ‘पछिल्ला एकदशकमा अष्ट्रेलियामा नेपालीहरुको संख्यात्मक बृद्धिदर द्रुतगतिमा भएको छ, त्यो संगसंगै धेरै समस्याहरु पनि हामीले प्रत्यक्ष र परोक्षरुपमा भोग्नुपरेको तथ्य सर्वविदितै छ ।’

सबैको माया, विश्वास र भरोसाले आफू नेतृत्वको लागि हौसिएको बताउनु भयो । सबैको उत्प्रेरणाले एनआरएनको मेम्वर हुदै सुरु भएको यात्रा अष्ट्रेलिया अध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्षम छु भन्ने निश्चिन्तताका साथ तपाई माझ आएको छु’, उहाँले भन्नु भयो, ‘म यसो गर्छु, उसो गर्छु भन्नुभन्दापनि तपाईहरुले हाम्रो नेपाली समाजका लागि जे गर भन्नुहुन्छ, जे अह्राहुनुहुन्छ त्यही इमान्दारीतापूर्वक गर्छु । र,म टिमवर्कमा विश्वास राख्ने सामाजिक कार्यकर्ता भएका कारण मेरो नेतृत्वमा रहेको टिमसंगको सरसल्लाह र सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाउदछु ।’


प्रकाशित | ३ असार २०७८, बिहीबार १०:११