एकै रातको बाढीले मेलम्ची बजार बगरमा परिणत

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ । मङ्गलबार साँझ हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेड वक्र्समाथि पहिरो गई नदी थुनिएर सुरु भएको बाढीले हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका ३ को भोताङको लार्केबाट पनि सोही समयमा बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुनपुगेको जनप्रतिनिधिहरू बताउँछन् ।

मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । सिन्धुपाल्चोकको साबिक ३ नम्बर निर्वाचन क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मेलम्ची एकै रातको बाढीले बगरमा परिणत गरेको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।

बाढीका कारण सात जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन् । तिम्बु बजारमा रहेको प्रहरी चौकीसहित बजारका सबै घर बगाएको छ ।


प्रकाशित | ३ असार २०७८, बिहीबार ०९:२७