लुुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो । चालूतर्फ १४ अर्ब ९३ करोड र पूँजीगततर्फ २१ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

चालु वर्षमा ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३ अर्ब बढाएको छ । लुम्बिनी सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने, लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्ने लगायतका योजनाका लागि बजेट छुट्याएको छ ।

यस्तै डीपीआर सम्पन्न भएका अस्पताललाई आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्न बजेट विनियोजन गरिएको छ । प्रदेशका सबै पालिकामा कृषि प्राविधिक राख्ने घोषणा गरिएको छ । दूधमा आत्मनिर्भर बनाउन प्रदेशले ८ करोड बिनियोजन गरेको छ । दुग्ध उत्पादनको विविधीकरण गरी छुर्पी एवं दुग्ध उद्योग सञ्चालन गर्न बजेट बिनियोजन गरिएको छ ।


प्रकाशित | १ असार २०७८, मंगलवार २१:३०