सुदूरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड ९४ लाख विनियोजन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्नु भएको हो ।

सरकारले चालूतर्फ १० अर्ब ६६ करोड नौ लाख, पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ४२ हजार, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ एक अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले महामारी रोग लगायत अन्य रोग व्यवस्थापनलाई उच्च प्राथमिकता दिइने र त्यसको लागि ९७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । स्थानीय तहहरुमा आधारभूत स्वास्थ्य भवन निर्माणका लागि एक करोड, कोभिड लगायतका महामारी र सङक्रामक रोग व्यवस्थापनका लागि ९० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सेती अस्तालतामा ट्रमा सेन्टर स्थापना र टीकापुर अस्पताल परिसरमा सरुवा रोग अस्पताल केन्द्र निर्माण गर्नका लागि पाँच करोड बजेट विनियोजन गरिएको छ । प्रदेशका छ हजार ३७ महिला स्वास्थ्य स्वयम् सेविकाको स्वास्थ्य बीमाको लागि एक करोड पाँच लाख ६५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, डोटी अस्पताललाई पाँच करोड ३५ लाख, वेदकोट अस्पताललाई पाँच करोड ३५ लाख, लम्कीचुहा सामुदायिक अस्पताललाई आठ करोड ८२ लाख, महाकाली अस्पताललाई पाँच करोड ७५ लाख बजेट आवश्यक पूर्वाधार निर्माणका लागि उपलब्ध गराइने जनाइएको छ । यसैगरी, जिल्ला अस्पताल अछामको लागि एक करोड ५० लाख, स्वास्थ्य कार्यालय बाजुरा र जिल्ला अस्पताल मार्तडीका लागि पाँच करोड बजेट विनियोजन गरिएको छ ।


प्रकाशित | १ असार २०७८, मंगलवार १९:३४