‘एनआरएन फ्रन्ट’ बजेटमा समेटिएपछि सरकारी लगानी आउनेमा ढुक्क छौं: कुमार पन्त (भिडियो रिपोर्ट)

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले बजेटमा नै १० अर्ब फ्रन्टलाई समावेश गरेकोमा खुसी ब्यक्त गर्नु भएको छ । विश्वसन्देसंग कुरा गर्दै संघका अध्यक्ष कुमार पन्तले बजेटले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गरेकोमा खुशी व्यक्त गर्नु भयो । १० अर्बको प्रोजेक्टलाई बजेटमार्फत नै सम्बोधन गर्नु सुखद पक्ष रहेको उहाँले बताउनु भयो ।

अध्यक्ष पन्तले यसलाई संघले सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले संयुक्त फ्रन्टको विषयमा भोलीका दिनमा के होला कसो होला भन्ने अन्यौलको अवस्थामा रहेकोमा बजेटमा नै पर्दा भने सरकारको लगानी सुनीश्चित भएको बताउनु भयो ।

गैर आवासीय नेपाली संघ मार्फत १० अर्बको लगानी भित्र्याउने उद्देश्यले ’एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ नामको कम्पनी स्थापना भइसकेको छ । नेपाल सरकारको समेत लगानी रहेको सो कम्पनीले दर्ता प्रक्रिया सम्पन्न गर्दै यति बेला प्रतिबद्धता जाहेर गरेका संस्थापकहरूबाट रकम माग गर्ने कार्यलाई अघि बढाइरहेको छ ।

त्यस्तै सरकारले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ’एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ’एनआरएन स्मार्ट कार्ड’ वितरण गरिने घोषणा गर्नुभयो । जसलाई अध्यक्ष पन्तले सकारात्मक कदम भएको विश्लेषण गर्नु भएको छ ।

त्यस्तैगरि, बजेटमा ब्रेन गेन सेन्टरलाई क्रियाशील बनाई विदेशमा विशिष्ठता हासिल गरेका नेपालीहरुको ज्ञान राष्ट्र निर्माणमा उपयोग गरिने पनि उल्लेख गरिएको छ । बजेटले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गरे पनि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न ढिलाई गरिएको प्रति भने उनीहरुले गुनासो गरेका छन् ।


प्रकाशित | १६ जेष्ठ २०७८, आईतवार १६:२७