८६ वर्षीया कमलकुमारीको खुशीः जसले १७ दिन आइसीयू बसेर जितिन् कोरोना

कमला गुरुङ/काठमाडौं

म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका कमल कुमारी भट्टचन उमेरले आठ दशक पार गरिन्। तर उनमा जोश जाँगरको कुनै कमी थिएन। खाना पकाउने, घरमा काम गर्ने, गाईवस्तुलाई हेर्ने गर्थिन्। यतिसम्म की उनी घरमा आवश्यक पर्ने खाद्य सामग्री पनि खरिद गर्न पसलसम्म पुग्थिन्।

तर वैशाख १० गते उनी एक्कासी बिरामी परिन्। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने लक्षण देखियो। यही लक्षण परिवारका अन्य सदस्यलाई पनि देखिएको थियो।

मौसम परिवर्तनका कारण यस्तो भएको हो की भन्ने अनुमान उनीहरुले गरे। एक सातासम्म ८६ वर्षीया वृद्धा भट्टचन घरमै बसिन्। गाउँघरमै पाइने औषधिबाट उनको उपचार गरियो। तर उनी निको भइनन्। उल्टै अवस्था गम्भीर बन्दै गयो। स्वाद हराउने, पखाला लाग्ने समस्या पनि थपियो।

उनकी नातिनी एलिजा भट्टचन भन्छिन्, ‘मौसम परिवर्तन भएर होला भनेर हामीले घरमै राख्यौँ। आयुर्वेदिक अनि गाउँघरमै पाइने औषधिबाटै उपचार गर्‍यौं। तर झन् हजुरमुवाले खाना खान छाड्नुभयो। अवस्था गम्भीर हुँदै गयो।’

आमाको स्याहार गर्ने क्रममा उनकी छोरी अर्थात् एलिजाकी फुपु पनि बिरामी परिन्। लक्षण देखिएपनि उनीहरुको कोरोना परीक्षण गरिएको थिएन।

खाना मन नलाग्ने, स्वाद हराउने र अक्सिजनको मात्रा पनि कम हुँदै गएपछि मात्र कोरोनाको आशंका लाग्यो। त्यसपछि हजुर आमालाई गण्डकी अस्पताल र फुपुलाई पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवामा भर्ना गरिएको नातिनी एलिजा बताउँछिन्।

हजुर आमालाई अस्पताल भर्ना त गरियो। तर परीक्षण भइसकेको थिएन। गण्डकी अस्पतालमा कोरोनाको रिपोर्ट आउन तीन दिन लाग्ने भएपछि एलिजाले निजी प्रयोगशालामा कोरोना परीक्षण गराइन्।

उनले भनिन्, ‘गण्डकी अस्पतालमा रिपोर्ट आउन तीन दिन लाग्ने भनेपछि मैले निजी प्रयोगशालामा तीन हजार तिरेर परीक्षण गराएँ। सोही दिन रिपोर्ट आयो।’

पिसिआर परीक्षणले कमल कुमारीलाई कोरोना पोजिटिभ पुष्टि गर्‍यो। त्यसपछि मात्र उनलाई गण्डकी अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरियो। आइसोलेसन वार्डमा भर्ना भएकी उनलाई पखाला लाग्ने र दिसासँगै रगत बग्ने समस्या देखिएको थियो।

फुपु शिशुवा र हजुरआमा गण्डकी अस्पतालमा भएपछि एलिजालाई अप्ठ्यारो भइरहेको थियो। चिकित्सकसँग आग्रह गरेपछि उनले भोलिपल्टै हजुर आमालाई पनि संक्रामक तथा सरुवा रोग अस्पतालमा लगिन्। त्यहाँ उनको आइसीयूमा राखेर उपचार सुरु भयो।

उनले भनिन्, ‘फुपु शिशुवा र अनि हजुरमुवा गण्डकी अस्पतालमा हुनुहुन्थ्यो। दुवैतिर आउँजाउँ गर्न मलाई एकदमै गाह्रो भएपछि मैले हजुरमुवालाई पनि शिशुवा नै रिफर गर्न आग्रह गरे।’

आइसीयूमा भर्ना गरिएपनि कमलकुमारीको दिसासँगै रगत बग्ने क्रम रोकिएन। एकै दिनमा नौ पटकसम्म रगत बग्न थाल्यो। त्यो बेलासम्म हजुर आमाको अवस्था निकै गम्भीर थियो। उनी आँखा पनि खोल्न सकिरहेकी थिइनन्।

कोरोना त्यही माथि रगत पनि बग्न थालेपछि एलिजा निकै आत्तिइन्। तर हिम्मत भने हारिनन्। उनले नै हजुर आमालाई आत्मबल दिइरहिन्।

उनले भनिन्, ‘कोरोना छँदै थियो। त्यही माथि रगत पनि बग्न थालेपछि धेरै गाह्रा भयो। उहाँले आँखा पनि खोल्न सक्नु भएको थिएन। म त हजुरमुवालाई नै हेरेर बसिरहन्थे।’

हजुर आमालाई खाना खुवाउनेदेखि दिसा पिसाब गराउने सबै काम एलिजा नै गर्थिन्। एलिजाले कोरोनाका गम्भीर खालका बिरामी देखिन्। आफ्नै आँखा अगाडी मृत्यु भएको पनि देखिन्।

ती कहालीलाग्दा दृश्यले एलिजाको मनमा चिसो नपसकेको होइन। उनी पनि धेरै आत्तिइन्। डराइन्। तर उनलाई लाग्थ्यो, म नै डराए भने हजुर आमालाई कसरी सम्हाल्ने ?

उनी भन्छिन्, ‘मेरो आँखा अगाडि नै कोरोना संक्रमितको मृत्यु भइरहेको थियो। मन डराउने रहेछ। तर के गर्नु म नै डराए भने हजुरमुवालाई कसरी हौसला मिल्थ्यो।’

१७ दिनसम्म आइसीयूमा राखेर उनको उपचार भयो। १२ औँ दिनसम्म उनको स्वास्थ्यमा सुधार त भइसकेको थियो। तर निकै कमजोरी भएका कारण उनलाई थप सात दिन अस्पतालमै राखेर उपचार गरिएको एलिजा बताउँछिन्।

अस्पताल पुर्‍याउँदासम्म त कमलकुमारीलाई कोरोना के हो भन्ने थाहा नै थिएन। उनी अर्धचेत अवस्थामा थिइन्। हजुरआमाले त अब मर्छु समेत भन्नु भएको एलिजा बताउँछिन्।

उनले भनिन्, ‘हजुर आमाले मलाई पखाला लाग्यो भन्नु हुन्थ्यो मैले हो भनिदिन्थे। त्यो बेलासम्म कोरोना भनेको पनि थाहा थिएन। पछि मैले कोरोना हो भनेर भनेँ। त्यसपछि उहाँले अब म मर्छु तिमीहरु राम्रोसँग बस भनेर आशा नै मारिसक्नु भएको थियो।’

स्वास्थ्यकर्मी र परिवारको हौसलाले एलिजाले हार मानेकी थिइनन्। उनले हरेक समय हजुरआमालाई पनि हौसला दिँदै भन्थिन्, ‘केही हुँदैन। हजुरलाई ठिक हुन्छ। कत्ति जना निको भएर गएका छन्। तपाईं पनि निको हुन्छ भनेर भनिरहन्थे। त्यसपछि उहाँले पनि हो म ठिक हुुन्छ है भन्नु हुन्थ्यो।’

स्वास्थ्यमा सुधार हुँदै गएपछि कमलकुमारीले राम्रोसँग कुरा गर्न थालिन्। अस्पताल भर्ना भएको १७ दिनपछि उनी डिस्चार्ज भइन्। डिस्चार्ज हुँदा कमलकुमारीको अनुहारमा मुस्कान थियो।

डिस्चार्ज हुने समयको तस्बिर राख्दै अस्पतालका निर्देशक डा विकास गौचनले सामाजिक सञ्जालमा उहाँको आशिर्वाद लिन पाउँदा खुशी लागेको लेखेका छन्।

डिस्चार्ज भएपछि कमलकुमारी अहिले घरमै छिन्। कोरोना निको भइसकेपनि शरीरमा कमजोरी भने रहेको एलिजा बताउँछिन्। जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा र लापरबाहीले गर्दा नै कोरोना फैलिएको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘यहाँ सबैलाई कोरोना छ। तर कसैले पनि मास्क लगाउँदैनन्। लापरबाही गर्छन्। लकडाउन छ। तर यहाँ पुजा, ब्रतबन्ध, बिहे हुन्छ। त्यही भएर पनि यहाँ सबै जना संक्रमित छन्।’ स्रोत- स्वास्थ्य खवर


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १८:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!