सरकारको चरम लापरवाहीले नेपालमा कोरोना संक्रमण बढ्यो: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कोरोना संक्रमण बढ्नुमा सरकार मुख्य दोषि रहेको बताउनुभएको छ । सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना संक्रमण बढिरहेको सभपाति देउवाको भनाइ छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड इद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापति देउवाले अहिलेको अवस्थामा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको बताउनुभयो ।

‘देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ । सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ’, सभापति देउवाले सन्देशमा भन्नुभएको छ ।

सभापति देउवाले ईद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको र यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार १३:२२