धृतराष्ट्रका विगत र आगत

उद्धव लुइँटेल पिप्लेली

संस्कृत साहित्यको चर्चित आर्ष महाकाव्य महाभारतमा एकजना महत्त्वपूर्ण पात्र छन धृतराष्ट्र । उनी द्वापरयुगको शक्तिशाली राज्य हस्तिनापुरको राजकाजमा कागताली परेर राजा बनेका थिए । प्राकृतिक रूपमा उनी आँखा देख्दैनन् । उनी राजा भएपछि विकसित भएका घटनाक्रमहरूले महाभारतको युद्ध भयो । राजा भएर पनि पुत्रमोहको अन्धताले ग्रस्त धृतराष्ट्रले हस्तिनापुरका एकसय एक महारथिहरू र स्वय् आफ्ना अनुजपुत्र पाण्डवहरू माथि न्यायोचित व्यवहार गर्न नसक्दा सिंगो राज्य र शक्ति छिन्नभिन्न भयो । उनले शकुनिजस्तो षडयन्त्रको खानी र दूर्योधनजस्तो अहंकारी छोरोमाथि ठीक समयमा नियन्त्रण कायम गर्न नसक्दा राजसिंहासनको सन्तुलन गुमाए । परिणाम स्वरूप धृतराष्ट्रका हातबाट एकसय एक महारथिहरू, राजकाजको तालाचाबी र सन्तानहरू सबै गुम्न पुगे ।

नेपालको राजनीतिक इतिहासमा ठीक तीन वर्ष अगाडि नेकपा एमाले र माओवादी केन्द्रको एकता पश्चात् आएको संघीय संसदको चुनावी परिणामले केपी शर्मा ओली बहुमत प्राप्त दलको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तीन वर्षको अन्तरालमा केपी ओलीले केही विकासे गतिविधिबाहेक मुलुकलाई ठोस कार्यदिशासहित अगाडि बढाउन सकेनन् । कम्युनिस्ट प्रधानमन्त्री हुनुको नाताले उनको उठबस सर्वहारा जनताहरूसँग हुनुपर्ने थियो । गरीब र निमुखाहरूसँग सरकार सँगसँगै उभिन सक्नु पर्दथ्यो । केपी ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा मुलुकबासीहरूले थुप्रै आसा र भरोसा राखेका थिए । यसका पछाडि उनी पहिलोपटक प्रधानमन्त्री हुँदा राष्ट्रियताका पक्षमा खुलेर बोलेका थिए । उनको त्यो पाटोलाई मन पराउने नेपालीहरू असंख्य थिए । त्यसले ओलीलाई लोकप्रियताको चुचुरोमा पुर्याएको थियो ।

कुशल नेतृत्त्व आफूभन्दा अरूका असन्तुष्टिमा विशेष ध्यान दिन्छ । अझ त्योभन्दा माथि उठेर राजनेताको दर्जामा आफूलाई उभ्याउन चाहने नेतृत्त्वले त व्यक्तिगत र पारिवारिक स्वार्थको घेरालाई सधैं भत्काइदिन्छ र आफूलाई जनता र राष्ट्रको सेवामा मन, वचन र कर्मले समर्पित हुन्छ । दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलालाई राजनेताको उत्तम उदाहरणका रूपमा लिन सकिन्छ । पछिल्ला समयमा सिंगापुरका ली क्वान यु र मलेसियाका महाथिर मोहम्मदलाई सफल राजनेताका रूपमा विश्व समुदायले ससम्मान रूपमा नाम लिने गर्दछ । अरू थुप्रै देशहरूले राजनेता भन्न योग्य नेतृत्त्वहरू उत्पादन गरिसकेका छन । राजनेताको उत्पादन कुनै पनि मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन तथा रूपान्तरणका विविध कारणहरूमध्ये एउटा प्रमुख कारण मानिन्छ ।

एउटा कार्यक्रममा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले केपी ओलीलाई आधुनिक भस्मासुर भन्ने संज्ञा दिएका थिए । त्यसको व्याख्या स्वयं भट्टराईले गर्लान । म केपी ओलीलाई धृतराष्ट्रको संज्ञा दिन रत्तिभर हिच्किचाउँदिन । किनकि यसमा मेरो आफ्नै तर्क छ । मसँग यो तर्कमा घण्टौं बहस गर्न सक्छु भन्ने आत्मविश्वास पनि छ । धृतराष्ट्रले हस्तिनापुरमा ठीक र बेठीक छुट्याउन नसक्दा, अपराधी र षड्यन्त्रका तानाबाना बुन्नेहरूलाई यथोचित सजाय दिन नसक्दा, आफ्नै अगाडि घटेका दुर्गन्धित र लज्जित घटनाहरूप्रति नियन्त्रण कायम गर्न नसक्दा हस्तिनापुरलाई अन्धकारको गर्तमा धकेलिदिए र एउटा भयानक युद्ध जहाँ लाखौं निर्दोषहरूले जीवन गुमाउनु पर्ने अवस्थामा पुर्याए । उनले त्यति मात्र गरेनन् । पुत्रमोहको अन्धताले ग्रस्त भएर कृष्ण र पाण्डवहरूको शान्ति प्रस्तावलाई पैतालामुनि कुल्चिए । फलस्वरूप उनका हातमा केही पनि बाँकी रहेन ।

केपी ओलीमा धृतराष्ट्रको छाँया स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ । उनले माओवादी केन्द्रसँगको एकतापछिका सहमतिहरू क्रमश कार्यान्वयन गरेका भए नेपाली कम्युनिस्ट आन्दोलन एउटा उचाईमा निरन्तर कायम हुन्थ्यो । माधव नेपाल र झलनाथ खनालजस्ता नेकपा एमालेका महारथिहरूसँग विनम्र र मृदु भाषा प्रयोग गरेका भए उनको पदीय गरिमा झन मजबुत हुन्थ्यो । बामपन्थी एकता र तागतको जगमा अरू केही दशक बामपन्थीइतरका राजनीतिक दलहरू भुँईमै हुन्थे वा धेरै भए घुँडा र कम्मरसम्म उक्लन्थे । त्यो बेला बामपन्थी नेतृत्त्व र सत्ता शीरमा हुन्थ्यो । त्यस्तो राजनीतिक समीकरणलाई जनताको अमूल्य मतदानले अनुमोदन गरेकै थियो र पुनस् गर्ने थियो । केपी ओलीले धरातलीय यथार्थ, जवाफदेहिता, जनभावना र भूराजनीतिक धरातललाई एकैपटक माटोमा मिलाइदिए । धृतराष्ट्रले पुत्रमोह र शकुनि षड्यन्त्रमा फसेर यी सबै गौण ठानेका थिए । भीष्म,दुर्योधन, भीम, अर्जुन र कर्णजस्ता महारथिहरू एकै ठाउँ उभिएका भए हस्तिनापुर कदापि पराजीत हुनुपर्ने थिएन । धृतराष्ट्रले चाहेका भए महाभारतको युद्ध रोक्न सक्थे । केपी ओलीका हातमा पनि पार्टी विभाजन रोक्ने चाबी थियो । तर त्यो प्रयोग गरेनन् । द्वापरयुगमा यसको दोष धृतराष्ट्र र वर्तमान नेपालको परिप्रेक्ष्यमा केपी ओलीलाई नै जान्छ ।

धृतराष्ट्रको एउटा प्रमुख दोष के थियो भने उनी हमेशा दुर्योधन र शकुनिको भनाइमा पूरा विश्वास गर्थे । आफ्नै मन्त्री विदुर र पत्नी गान्धारीले दिएका सत्य वचनहरूलाई उनले विश्वास गरेनन् । केपी ओली आफ्ना केही गुटगत व्यक्तिहरूका भनाईलाई विश्वास गर्थे । गोकुल बास्कोटा,विष्णु पौडेल, सूर्य थापा आदि यसका उदाहरणहरू हुन । बास्कोटा ७० करोड भ्रष्टाचार काण्ड र पौडेल बालुवाटार जग्गा प्रकरणका प्रमुख पात्र हुन भन्ने जान्दाजान्दै पनि ओलीले कार्यवाही गरेर आफ्नो संविधानप्रतिको निष्ठा र पदीय दायित्त्वलाई सही सावित गर्न सकेनन् । बरू उनीहरू प्रधानमन्त्रीका वरिपरि अझ बालुवाटारको प्रधानमन्त्री निवासकै हर्ताकर्ता भएर बसे । दुर्योधन र शकुनि पनि धृतराष्ट्रकै दरबारको भित्र र बाहिर गरिरहन्थे ।

वैशाख २७ गते संघीय संसदबाट विश्वासको मत लिन असफल भएका ओलीको अनुहारमा महाभारतको भयानक युद्धपछिका धृतराष्ट्रको मुहार प्रतिबिम्बित भएको देखिन्छ । सत्ताका सबै शस्त्रअस्त्रको प्रयोग गरे पनि आखिर ओलीको सत्ता बहिर्गमन सुनिश्चित भयो । यस बीचमा उनले आफ्नो हातबाट देशको सबैभन्दा ठूलो राजनीतिक दललाई टुक्राटुक्रा मात्र पारेनन् देश र जनताको स्थीर सरकारसँगै समृद्धिको सपना माथि तुषारापात गरे । पार्टीभित्रका लाखौं इमानदार र कर्तव्यनिष्ठ नेता कार्यकर्ताहरूलाई उनको दम्भ र अहंकारको हावाहुरीले तहसनहस बनाएरै छाड्यो । ओलीको संकटग्रस्त सत्ता बहिर्गमन इतिहासमै कलंकित उदाहरण छोडेर बिलायो ।

केपी ओलीको संसद विघटनको एउटा राजनीतिक अपराधलाई सर्वोच्च अदालतले बदर गरिदियो । तत् पश्चात् उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो । तर त्यसो हुन सकेन । ओलीमा झनझन् सत्तामोह, सत्तालिप्सा, सत्ताखेल र प्रतिशोधको भावना मौलाएर गयो । उनले वैचारिक मतभिन्नता राख्नेहरूप्रति कटुवचनका दर्जनौं धनुबाण बर्साए । जसरी अर्जुनले भीष्मका छातीमा बाण हानेका थिए । भनिन्छ धृतराष्ट्र अन्धा थिए तर अज्ञानी थिएनन् । केपी ओली लौकिक संसार राम्ररी देख्छन । उनी ज्ञानी पनि छन । ध्यानी पनि छन । सामान्य ज्ञानमा उनको रूचि असाध्यै धेरै छ । तर सत्ताद्वन्द्वमा उनको अतुलनीय रुचि दुर्बोध्य खालको छ । कतिपयले केपी ओली औपचारिक शिक्षा नलिएका तर स्वअध्ययनबाट अथाह ज्ञानार्जन गर्ने व्यक्ति हुन भनी टिप्पणी समेत गर्ने गर्दछन ।

कोभिड १९ को दोस्रो संक्रमणले मुलुक अस्तव्यस्त छ । निषेधाज्ञाका कारण मानिसहरूको दैनिक जीवनयापन कष्टकर छ । उद्योग र व्यापार व्यवसाय भीरको डिलमा पुगेको छ । यसले मुलुकको आर्थिक क्षेत्रलाई डामाडोल बनाउने पूर्वसंकेतहरू देखापरिसकेका छन । स्वास्थ्य क्षेत्र भयावह अवस्थाबाट गुज्रिरहेको छ । यो समय नेपालीहरूको मन जोडेर एकआपसमा सहयोगका निम्ति राज्यका सबै व्यक्ति र अंगहरू मरिमेटेर लाग्नुपर्ने हो । तर परिस्थितिप्रति राज्यको सुविधा लिएर बसेकाहरू सचेत देखिँदैनन् । औषधि र अक्सिजनको अभावले कोरोना संक्रमितहरू सही उपचारको अभावमा छटपटिरहेका छन । यी सबै परिस्थितिलाई वैशाख २७ गतेसम्म पनि केपी ओलीले नजरअन्दाज गरिरहेका छन ।

केपी ओलीको सत्ता बहिर्गमन नयाँ हस्तिनापुरको उदय भने होइन । किनकि अब बन्ने सरकार र त्यसका सम्भावित अनुहारहरू युधिष्ठिरको जस्तो सत्यप्रतिको निष्ठा बोकेका छैनन् । तिनीहरू कुनै न कुनै रूपमा आरोपका दलदलमा भासिएका छन । संविधान र कानुनको अक्षरश: परिपालना गर्ने नेतृत्त्व वर्तमान आवस्यकता हो ।

दुई विपरित राजनीतिक शक्तिहरूलाई जोड्न मण्डेलासँग अद्भूत क्षमता थियो । उनले दक्षिण अफ्रिका बेलायती साम्राज्यवादको बाघपन्जाबाट मुक्त भएपछि श्वेत र अश्वेतहरूका बीचमा रहेको तीक्ततालाई हटाउन दक्षिण अफ्रिका टाउको हो । श्वेत र अश्वेत जातिहरू त्यो टाउकाका दुईवटा आँखा हुन भन्ने अभिव्यक्ति दिएका थिए । त्यो दूरगामी महत्त्वको भनाईलाई आत्मसात् गर्दा मण्डेला मुलुकले अरू अफ्रिकी मुलुकहरूको जस्तो आन्तरिक द्वन्द्वमा फस्नु परेन । बाम शक्तिका बीचको एकता मजबुत बनाउने अवसर केपी ओलीका दाहिने हातमा थियो । तर उनले त्यो पाटोबाट सोच्दै सोचेनन् । न त उनका सल्लाहकारहरूले नै उनलाई यसमा सोच्न सल्लाह दिए । धृतराष्ट्रको अन्त्य सुखद् थिएन । कौरव वंशको पतन र कुलको सर्वनाशले धृतराष्ट्रको अनुहार पोतिएको थियो । उनका टाउका माथि लाखौं निर्दोषहरूको रगत लत्पतिएको थियो । आफन्तहरू सबैलाई उनले छिन्नभिन्न पारिसकेका थिए । हस्तिनापुरको राजसिंहासन दुष्चक्र र चरम व्यक्तिवादको शिकार बनेको थियो । अर्थात् आफ्नै चरित्रले उनी पौराणिक इतिहासका खलपात्रका रूपमा परिचित भइसकेका थिए । केपी ओलीलाई आजको राजनीतिक परिस्थितिले लगभग उस्तै बनाएको छ ।

केपी ओलीको सत्ता बहिर्गमन नयाँ हस्तिनापुरको उदय भने होइन । किनकि अब बन्ने सरकार र त्यसका सम्भावित अनुहारहरू युधिष्ठिरको जस्तो सत्यप्रतिको निष्ठा बोकेका छैनन् । तिनीहरू कुनै न कुनै रूपमा आरोपका दलदलमा भासिएका छन । संविधान र कानुनको अक्षरश: परिपालना गर्ने नेतृत्त्व वर्तमान आवस्यकता हो । जसले देशका मूलभूत समस्याहरूको हल निकाल्न प्रयत्न गरोस् ।

हाल टोकियो, जापान


प्रकाशित | २८ बैशाख २०७८, मंगलवार १३:०६