गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार उहाँको न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिनु भएका उहाँको घरमै सांगीतिक माहोल थियो । उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्नुहुन्थ्यो ।

उहाँको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उहाँको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।


प्रकाशित | २३ बैशाख २०७८, बिहीबार १५:३८