सरकार ! ग्यारेजमा थन्किएका गाडीबाट बैंकको किस्ता कसरी तिर्ने ?

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासिचव सरोज सिटौलाले निषेधाज्ञाको कारण यातायात व्यवसायीहरु पुनः मर्कामा परेको गुनासो गर्नु भएको छ । विश्व सन्देश अनलाइन संगको कुराकानीमा महासचिव सिटौलाले निषेधाज्ञाको कारण सबैभन्दा बढी यात्रुबाहक व्यवसायी मर्कामा परेको गुनासो गर्नु भएको हो ।

उहाँले संकटको समयमा सरकारले यातायात व्यवसायीहरुलाई राहत नदिएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘सरकारले दोहोरो नीति ल्याउनु हुदैंन । यातायात व्यवसायीहरुलाई अन्याय भएको छ । हिजो एक वर्ष यातायात क्षेत्र अस्तव्यस्त हुँदा पनि सरकारको तर्फबाट यातायात व्यवसायी तथा मजदुरलाई कुनै किसिमको राहत भएन । ’

उहाँले मजदुरहरु दिनदिनै भोको हुने अवस्थामा पुगेको गुनासो गर्नु भयो । ‘अर्कोतर्फ गाडी थन्किएपछि बैंकको किस्ता तिर्न निकै गाह्रो हुने उहाँले बताउनु भयो । ग्यारेजमा थन्किएको गाडीबाट हामीले कसरी बैंकको किस्ता तिर्न सक्छौं ?’ उहाँले प्रश्न गर्नु भयो ।

सरकारले अब पनि यातायात व्यवसायीहरुलाई राहत नदिएको अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने यातायात क्षेत्र पलाउन हुने महासचिव सिटौलाले उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो ‘ खर्बौ रुपैया लगानी भएको यातायात क्षेत्रलाई बचाउन सरकारले बेलैमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

सरकारले यातायात व्यवसायी तथा मजदुरहरुलाई कसरी बचाउने भन्नेमा लाग्नुपर्नेमा उहाँले जोड दिनु भयो । महासचिव सिटौलाले संकटको बेला बैंकले गाडीको किस्ता लिनु नहुने बताउनु भयो । सरकारले यातायातका लगानी बचाउने खालका प्याकेजहरु ल्याउनु पर्ने उल्लेख गर्नु भयो ।

कोरोना संक्रमणका कारण देशका विभिन्न जिल्लामा निशेधाज्ञा भएसंगै यातायात व्यवसायीहरु पुनः मर्कामा परेका छन् । गत वर्ष लकडाउनका कारण लामो समयसम्म थन्किएर भर्खरै चलायामान हुन थालेको यातायात क्षेत्र कोरोनाको दोस्रो लहरसंगै पुनः ग्यारेजमा थन्किन थालेका हुन् ।

वैशाख १६ गते बाट उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा २ हप्ताका लागि निशेधाज्ञा जारी भयो । यस्तै कोरोना संक्रमण फैलिएका देशका विभिन्न क्षेत्रमा निशेधाज्ञा हुने क्रम बढ्दो छ ।


प्रकाशित | १७ बैशाख २०७८, शुक्रबार २०:३५