आज शहीद दिवस, देशको लागि बलिदान गर्नेहरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना

काठमाडौँ । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ ।
जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।

वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ ।


प्रकाशित | १६ माघ २०७७, शुक्रबार ०८:१८