जनसभालाई सम्बोधन गर्न धनगढी पुग्नु भएका प्रधानमन्त्री ओली विरुद्ध टायर बालेर प्रदर्शन

कैलाली । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी पुग्नु भएको छ ।
काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी पुग्नु भएको हो ।
ओलीले नेकपाको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । त्यसका लागि सदूरपश्चिमका विभिन्न जिल्लामा हजारौँ कार्यकर्ता धनगढीमा भेला भएका छन् ।
ओली धनगढी नपुग्दै उहाँको विरोधमा नेकपाकै दाहाल–नेपाल समूह निकट अनेरास्ववियुका विद्यार्थी नेताहरूले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।
कडा सुरक्षा व्यवस्थालाई छिचोल्दै उनीहरूले टायर बालेर विरोध जनाएका छन् भने केही स्थानमा कालो झण्डासमेत देखाउने तयारी गरेपछि सुरक्षा निगरानी उच्च पारिएको छ ।
प्रधानमन्त्रीको सुरक्षार्थ विमानस्थलदेखि खुला मञ्चसम्म नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ । स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको जनाएको छ ।


प्रकाशित | २४ पुष २०७७, शुक्रबार १३:१९