प्रचण्ड -माधव गुटले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नैतिक आधार गुमाइसक्यो : महेश बस्नेत

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपाका कार्यकारी अध्यक्ष, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले केपी ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री राजिनामा माग्ने नैतिक आधार समेत नरहेको उल्लेख गर्नुभएको छ ।

आज राष्ट्रिय युवा संघ नेपाल नवलपुरको आयोजनामा भएको युवा भेलालाइ गैंडाकोटमा सम्बोधन गर्दै सांसद बस्नेतले नेकपाका कुनै पनि नेताले आफ्नो विगतलाई सम्झेर वर्तमानलाई मुल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो नेतृत्व कालमा पार्टी तथा सरकारलको अवस्था कस्तो थियो रु र मुलुकको विकास र समृृद्धिको यात्रामा कस्तो नेतृत्वदायी भूमिका निर्वाह गरेको थिँए भनि एक पटक सम्झन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका सांसद बस्नेतले संविधान तथा पार्टीलाई युवामैत्री बनाउनुपर्नेमा जोड दिँदै युवाको भूमिका तथा जिम्मेवारीको विषयमा आगामी पार्टीको महाधिवेशनमा छलफल हुने बताउनुभयो । पार्टी तथा सरकारको विरुद्धमा फिँजाइएको भ्रमलाई चिर्न युवा संघको महत्वपूर्ण भूमिका रहेको औंल्याउँदै उहाँले टोल टोलमा सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले गरेका उपलब्धीलाई पार्टी कमिटीको एकता नभएकै कारण गाउँ गाउँ पुर्याउन नसकेको उल्लेख गर्दै उहाँले पार्टी भित्रका तथा वाहिरका कतिपय अराजक तत्वहरुले सरकारको राम्रो कामलाई छोप्दै नराम्रो कुराहरु मात्र उजागर गर्ने गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कपडा फेर्ने समयमा भएको नाङ्गोपनलाई गरिव र अभाव भएको व्यक्तिसँग तुलना गर्नु मिल्दैन । मुलुकभर सरकारले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका जनतालाई अपरिहार्य कार्यहरु द्रुत गतिमा अगाडी बढाईरहेको छ । जुन जनताले प्रत्यक्ष रुपमा देख्नुभएको छ । सरकारको राम्रो कामलाई छोप्न अनेक बहाना बनाई केही अराजक तत्वहरुले खेती गरिरहेका छन् । त्यसलाई नियन्त्रण गर्न कानुनी तथा सांगठनीक रुपमा व्यवस्थित र प्रभावकारी भूमिका चाल्नु जरुरी रहेको छ । जसको नेतृत्व युवा संले गर्नुपर्छ ।’


प्रकाशित | ४ पुष २०७७, शनिबार १८:४१