कोरोनाका कारण उडान प्रभावीत हुँदा विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

काठमाडौँ : कोरोना सङ्क्रमणका कारण उडान प्रभावित हुँदा विमानस्थलको पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी घटेको छ ।

२०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यसअघि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यो तथ्यांकलले विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको देखाउँछ ।

कोभिड सङ्क्रमण नियन्त्रणस्वरूप सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको विमानस्थलको आम्दानी कोरोना सङ्क्रमणका कारण गत भदौमा चार करोड ८९ लाख रुपियाँसम्म घटेको बताउनुभयो ।


प्रकाशित | २३ मंसिर २०७७, मंगलवार ०८:१३