धेरै बेसार सेवन स्वास्थ्यका लागि हानिकारक, के-के छन् बेफाइदा ?

डा अस्मिता अर्याल

आयुर्वेदिक चिकित्सामा बेसारलाई ‘प्राकृतिक वरदान’ मानिन्छ। वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन्। बेसारमा पाइने ‘करक्युमिन’ नामक तत्वले एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्टका रूपमा शरीरमा काम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तथ्यसँग एलोप्याथिक चिकित्सा पनि सहमत।

यस्ता चमत्कारी गुण भएको बेसार, प्रत्येक नेपाली भान्सामा अनिवार्य मसलाका रूपमा धेरै अघिदेखि नै प्रयोग हुँदै आइरहेको छ भने पश्चिमी राष्ट्रहरूमा ‘करक्युमिन’ क्याप्स्युलको रूपमा बिक्री-वितरण एवं सेवन पनि भइरहेको छ।

कोरोनाको माहामारी चुलिएसँगै सामाजिक सञ्जालमा बेसारको महिमा पनि चुलिएको छ। प्रत्येक नेपाली भान्सामा यसको प्रयोग दोब्बर/तेब्बर प्रतिशतले बढेको छ। तर यसरी मात्रा नमिलाई अत्यधिक रूपमा सेवन गरिएको बेसार ‘हानिकारक’ हुनसक्छ। सही मात्रामा प्रयोग गर्दा अनगिन्ती फाइदा भएको बेसारले मात्राभन्दा बढी सेवन गर्दा निम्त्याउने स्वास्थ्य समस्याका बारेमा  बिरलैमात्र चर्चा हुने गरेको छ।
 
अत्यधिक बेसार सेवनले निम्त्याउने समस्या/ बेफाइदा
रक्तस्राव (ब्लिडिङ डिसअर्डर)

विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार शरीरलाई आवश्यकताभन्दा बढी (दैनिक ८ ग्रामभन्दा बढी) बेसार सेवन गर्दा रक्तस्रावको समस्या देखा पर्न सक्छ। यसले रगत पातलो बनाउने र ‘ब्लिडिङ टाइम’ बढाउने गर्छ। जसका कारण चोटपटक लागेपछि रगत जम्ने प्रक्रिया सुस्त हुन्छ अनि यसले अत्यधिक रक्तस्राव गराउँछ। यसका साथै शरीरमा सजिलै निलडामहरू बस्ने समस्या पनि देखा पर्न सक्छ। 

रक्तअल्पता/आइरन डेफिसियन्सी अनेमिया
हाम्रो शरीरलाई आवश्यक ‘आइरन’ आन्द्राका कोषिकाहरूले ‘फेरिटिन’का रूपमा प्रयोग गर्ने गर्छ। बेसारमा पाइने ‘करक्युमिन’ तत्व आन्द्रामा गई फेरिक आइरनसँग बाँधिन्छ, जसका कारण फेरिटिनको उत्पादन हुन पाउँदैन। यसरी हामीले जति नै आइरनयुक्त खाना खाए पनि अस्वभाविक रूपमा धेरै बेसार खाइराख्दा आन्द्राका कोषिकाले सो आइरन उपयोग गर्न पाउँदैन अनि रक्त अल्पताले सताउने गरेको पाइन्छ।

हर्मोनसँग सम्बन्धित समस्या
हालसालै भएका अध्ययनहरुले बेसारमा पाइने ‘करक्युमिन’ ले टेस्टोस्टेरोन नामक हर्मोनको सक्रियता बढाउने तथ्य फेला पारेको छ। प्रजनन् स्वास्थ्यका दुई महत्वपूर्ण हर्मोन, ‘इस्ट्रोजेन’ र ‘टेस्टोस्टेरोन’ सँग प्रत्यक्ष सम्बन्ध हुने देखिएकाले करक्युमिनको प्रयोग मात्रा मिलाएर गर्दा मात्र फाइदा हुने अध्ययनहरूको निष्कर्ष रहेको छ।

कस्ता बिरामीले विशेष ध्यान दिने?
१. एन्टिकोयागुलेन्ट र एन्टिप्लेट्लेट्स्को नियमित सेवन गर्ने बिरामीले:

रगत पातल्याउने औषधि जस्तै एस्पिरिन, हेपारिन, क्लोपिडोग्रेल, ब्रुफेन, नाप्रोक्जेन सेवन गरिरहेका बिरामीले बेसारको प्रयोग विशेष सावधानीका साथ मात्र गर्नुपर्छ।

२. पित्तथैलीमा पत्थरी भएका बिरामीले:
बेसारमा पाइने तत्वले पित्तथैलीको संकुचन प्रकियालाई बढाउँछ, जसका कारण पित्तथैलीमा भएको पत्थरी, पित्त नलीमा वा अग्न्याशय (प्यान्क्रियाज) को नली अड्केर झन् जटिल समस्या निम्त्याउन सक्छ।

३. मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामीले: 
बेसारको नियमित सेवनले शरीरमा ब्लड सुगर लेभललाई घटाउन मद्दत गर्छ। मधुमेहका बिरामीले अत्यधिक बेसार सेवन गर्दा रगतमा सुगरको मात्रा आवश्यकताभन्दा न्यून भई, बेहोसी, रिगंटा लाग्ने, छट्पटाउने, हातखुट्टा काम्ने जस्ता समस्या देखा पर्न सक्छ।

त्यस्तै, ‘करक्युमिन’ नामक तत्वले रक्तचाप समेत घटाउने भएकाले ‘लो ब्लड प्रेसर’ भएका व्यक्तिले र उच्च रक्तचापको नियमित औषधि सेवन गरिरहेका बिरामीले सही मात्रा मिलाएर मात्र बेसार सेवन गर्नुपर्ने हुन्छ।

४. मिर्गौलामा पत्थरीको जोखिम भएका बिरामीले:
बेसारमा पाइने ‘अक्जालिक एसिड’ शरीरमा पुगेपछि, विभिन्न प्रक्रियाबाट ‘अक्जालेट क्रिस्टल्स’मा परिणत हुन्छ। यस्ता क्रिस्टल्स मिर्गौलामा फिल्टर हुन सक्दैनन् र पत्थरी बनेर समस्या दिने गर्छन्।

कति मात्रामा सेवन गर्दा फाइदा?
पटकपटक गरिएका अनुसन्धानका अनुसार, दैनिक ५००-२००० मिलिग्रामसम्म नियमित बेसार सेवनलाई सुरक्षित एवं लाभकारी मानिएको छ। एउटा सानो चिया चम्चा बराबर लगभग २००-२५० मिलिग्राम हुने अनुमान लगाउन सकिन्छ।

‘डब्लुएचओ’ ले भने मानिसको वजन अनुसार प्रति केजी ०-३ मिलिग्रामसम्म दैनिक बेसार सेवनलाई सुरक्षित पुष्टि गरेको छ। 

बेसार सेवनलाई अझ उपयोगी कसरी बनाउने?
कालो मरिचसँग प्रयोग गर्ने : कुनै पनि रूपमा बेसारको सेवन गर्दा, एक चिम्टी कालो मरिचको धुलो राखेर खाँदा यसको प्रभावकारिता २००० प्रतिशतले बढ्ने अध्ययनहरूको दाबी छ। कालो मरिचमा भएको पिपेरिन नामक तत्वले बेसारमा भएको करक्युनसँग सहकार्य गरी शरीरमा बेसारको सक्रियतालाई बढाउने गर्छ।

बेसार ‘फ्याट सोलुबल’ : यसको अर्थ बेसार बोसोजन्य खानेकुरासँग मिलाएर खाँदा शरीरमा बढी सक्रिय हुने गर्छ। डेरीको दूधमा समेत केही मात्रामा फ्याट हुने भएकाले नेपाली भान्साको सहजता अनुरूप दूधमा एक सानो चिया चम्चा बेसार मिसाएर खानु अत्यन्त लाभदायी हुन्छ।

स्रोत – स्वास्थ्य खवर


प्रकाशित | ५ मंसिर २०७७, शुक्रबार २०:५५