प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने

काठमाडौं । प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई आगामी २७ गते हुने भएको छ । आज बसेको सुनुवाई समितिको बैठकले प्रस्तावित तीन जना राजदूतको आगामी २७ गते सुनुवाई गर्ने निर्णय गरेको हो ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

लगत्तै संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिमा खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए ।

अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाई समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो ।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी) लाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्दै आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।


प्रकाशित | १७ कार्तिक २०७७, सोमबार १४:२१