कोरोना संक्रमणपछि शरीरमा उत्पादन हुने एन्टिबडिज लामो समयसम्म रहँदैन

एजेन्सी- कोभिड-१९ बाट संक्रमित भइसकेपछि शरीरमा उत्पादन हुने त्यसविरुद्धको एन्टिबडिज लामो समयसम्म नरहने र इम्युनिटी फेरि घट्दै जाने बुधबार प्रकाशित नयाँ शोध (रिसर्च) मा जनाइएको छ ।

त्यसैले संक्रमणपछि पनि हामी धेरै लामो समयसम्म सुरक्षित रहन नसक्ने हुँदा पुनः संक्रमणको जोखिम बढ्न सक्ने बताइएको छ ।

यसका लागि इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरुले मार्च र अप्रिलमा पहिलो लहरको कोरोना महामारीबाट संक्रमित जनसङ्ख्यामा एन्टिबडिजको स्तर परीक्षण गरेका थिए । तर उनीहरुको शरीरमा एन्टिबडिजको उत्पादन जुनमा ६ प्रतिशतबाट सेप्टेम्बरसम्म आइपुग्दा ४.४ प्रतिशतले कम भइसकेको पाइएको हो । यस्तोमा पहिलो लहरको भाइरसबाट गुज्रिसकेकाहरुको इम्युनिटी दोस्रो लहर आउँदासम्म कम हुने स्पष्ट भएको हो ।

कोरोना भाइरसविरुद्धको इम्युनिटीलाई अत्यन्तै जटिल विषय मानिँदै आएको छ । कोभिडसम्बन्धी विभिन्‍न अध्ययनहरु र अनुभव हेर्दा शरीरमा टी-सेल्स र बी-सेल्सको मद्दतले उत्पादन हुने यसविरुद्धको एन्टिबडिजले यसअघि सोचेजति लामो समय इम्युनिटी दिन नसक्ने उनीहरुले पत्ता लगाएका हुन् ।

इम्पेरियल कलेज लन्डनको संक्रमण रोग विभागकी प्रमुख वेन्डी बारक्लेले भनेकी छन्, “हामीसँग प्राप्त प्रमाणअनुसार संक्रमणपछि बिरामीको शरीरमा उत्पादन हुने एन्टिबडिज समयसँगै घट्दै गइरहेको छ । र यो जुन स्तरमा घट्दै छ त्यही मात्रामा इम्युनिटी पनि जनसङ्ख्यात्मक स्तरमै कम हुँदै गइरहेको यसले संकेत दिएको छ । ”

यसमा स्वास्थ्यकर्मीहरुमा चाहिँ एन्टिबडिजको स्तरमा कुनै घटबढ देखिएन किनकि उनीहरु लगातार भाइरससँग सम्पर्कमा आइरहेका हुन्छन् तर लक्षणबिनाका र अन्य बिरामीहरुको तुलना गर्दा तिनको शरीरले बिस्तारै एन्टिबडिजको उत्पादन घट्दै जाने गरेको पाइएको हो । -रोयटर्स


प्रकाशित | १३ कार्तिक २०७७, बिहीबार १३:१०