सार्वजनिक यातायातलाई पूरानै भाडामा सबै सिटमा यात्रु राख्न दिने निर्णय

काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ ।

बैठकले आम नागरिकलाई जो जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित | २७ आश्विन २०७७, मंगलवार ०८:४९