नवीन थापा क्षेत्रीलाई व्यक्तिगत पत्र

प्रिय मित्र नवीनजी

असोज ७ गते बिहान खानपान पछि आराम गरेर बसिरहेको बेला तिम्रो म्यासेज आएको थियो । ‘उद्धवजी साहित्यले पर्यटन प्रवर्द्धनमा के कस्तो सहयोग पुर्याउँछ ? एउटा लेख लेख्नु न हो,म कुनै बेला मञ्चमा त्यो कुरा उठाउँछु ‘। तिम्रो यो पूर्वेली लबजको प्रस्तावलाई मैले निकैपटक जोडघटाउ गरें । ल.स. र म. स. निकालें । अनि अक्षरकै माध्यमबाट ठिक समयमा उपर्युक्त जवाफ दिने निष्कर्षमा पुगें ।

साहित्यका बारेमा कुरा गर्न कहाँ बाट थालौं मित्र । भरतमुनिको रस सिद्धान्त, भामहको अलङ्कार सम्प्रदाय, वामनको रीति सम्प्रदाय, आनन्दवर्धनको ध्वनि सम्प्रदाय र कुन्तकको वक्रोक्ति सम्प्रदायका बारेमा मैले तिमीलाई सिकाउनु पक्कै पर्दैन होला । साहित्य स्वान्तसुखायका लागि लेखिन्छ कि पूर्वीय साहित्यशास्त्रले भने झैं धर्म, अर्थ, काम र मोक्षका निम्ति लेखिन्छ । त्यसका बारेमा घण्टौं बहस गर्न सकिएला । त्यो अलग कुरा हो । तर मित्र नवीनजी साहित्य मानव जीवनसहितको भाषिक कला हो भन्ने कुरामा म प्रष्ट छु ।

एकैछिन ग्रिसेली सभ्यतातिर नियाल्ने हो भने प्लेटोको साहित्यप्रतिको आक्षेपमा पनि महिनौं बहस गर्न सकिन्छ । अरस्तुको साहित्यप्रतिको प्रेम र सदासयतामा पनि निकैबेर घोत्लिन सकिन्छ नै । प्लेटोले भनेझैं साहित्य वास्तविक सत्यभन्दा दुई तह पर हुन्थ्यो भने प्लेटो जन्मिएको धर्तिमै होमरजस्ता विश्वप्रसिद्ध महाकाव्यकार कसरी जन्मिन्थे होला र ? एस्किलस, युरिपाइडिज, सोफोक्लिज, सफ्फो, पिण्डार, एरिस्टोफेनसजस्ता प्रतिभाहरू प्लेटोको धर्तिमै जन्मिएका हुन । त्यसैले मित्र नवीनजी साहित्य प्लेटोको आलोचनाको धनुषबाट डराउने र अरस्तुको तार्किक समर्थनको मलजलले फस्टाउने विषय हुँदै होइन । यो त प्रतिभावान र भाषिक कलाका शिल्पीहरूको कठोर मिहिनेतबाट जन्मिने सुन्दर र दिव्य सिर्जना हो ।

तिमीले पर्यटनका बारेमा जोडेका थियौ । धेरै परको कुरा नगरौं ताना शर्माको ‘ घनघश्याको उकालो काट्दा’ नियात्रा पढेरै तिमी हामीले कुनैबेला त्यस धर्तिप्रतिको अवधारणा दिमाखमा बनाएका हौं । न तिमी घनघश्या पुगेका छौ न म नै पुगेको छु । तर पनि त्यो ठाउँको बिम्बात्मक धारणा बन्नु शर्माको उक्त नियात्राको देन हो । हुनसक्छ कति मानिसहरू त्यो पढेपछि घनघश्यामा पाइला हाल्न पुगे होलान । म युवराज नयाँघरेका नियात्रासँगै अमेरिका पुगेको छु । अस्ट्रेलियाका गल्लीगल्ली चाहारेको छु । वर्मा पुगेर अनुहारभरि तनक्खा दलेको छु । वाग्मतीको पुलमुनिका सुकुम्बासीका चुलाचौकामा पाकेको जाउलो खाएर पेट भरेको छु । कालिञ्चोक मन्दिरको थुम्कोमा रमाएको छु । नागार्जुनको घना जंगलमा एक्लै भौतारिएको छु । साहित्य नपढेको भए मलाई यी सबै ठाउँ कहाँ थाहा हुन्थे र नवीनजी ।

तिमीलाई म धेरै उदाहरणहरूको जङ्गलमा तानेर लैजाने धृष्टता गर्ने छैन । किनकि तिम्रो ज्ञानको दायराका निकै फराकिलो छ भन्ने कुरामा म जानकार छु । बरू कला कलाका लागि हो कि कला जीवनका लागि भन्ने विपरित ध्रुवका यी दुई मान्यताहरू मध्ये तिम्रो झुकाव कला जीवनका लागि तिर छ भन्ने मलाई लागेको छ । साहित्य जीवनका लागि हुनुपर्छ । जीवन जोडिएको साहित्य नै सर्वश्रेष्ठ हुन्छ । जीवनबिहिन साहित्यको म त परिकल्पनासम्म गर्न सक्दिनँ । एरिस्टोटलको अनुकरण सिद्धान्त होस् वा विरेचन सिद्धान्त, सेमुअल टेलर कलरिजको कल्पना सिद्धान्त होस् वा टमस स्टर्न इलियटको निर्वैयक्तिकताको सिद्धान्त, आइए रिचर्डको मूल्य र सम्प्रेषण सिद्धान्त ती सबैमा जीवन अटाएकै छन । फरक यति हो कि कुनैका छाति फराकिला छन कुनैका केही साँघुरा । तर जीवन त कुनै न कुनै रूपमा उपस्थिति भएकै छ ।

एउटा व्यक्ति नयाँ ठाउँ कसरी घुम्न जान्छ ? त्यसका विभिन्न उत्तरहरू हुनसक्छन । अफ्रिकाको हब्सी होस् वा लन्डनको बेलायती, श्रीलंकाको सिंहाली होस् वा भारतको तमिल, अमेरिकी नागरिक होस् वा जापानी नागरिक यिनीहरू सगरमाथाको टुप्पोमा पाइला टेक्ने सपना बोकेर नेपाल किन टेक्छन ? यसभित्र उनीहरूले आफ्नो मन खिच्ने खालको सूचना पाएका पक्कै पनि छन । सगरमाथाका बारेमा लेख्न र बनाउन बाँकी के नै होला र मित्र नवीनजी । मलाई लाग्छ सगरमाथा टेक्नेहरूले लेखेका साहित्यिक रचनाहरू, बनाएका वृत्तचित्रहरू र तयार पारेका पुस्तकहरूबाट सूचना पाउँछन । र तिनीहरू आफ्नो व्यस्त जीवनको एक अंश समय निकालेर सर्वोच्च शिखरको आरोहण गर्छन ।

तिमीलाई र मलाई दाँतेको ‘डिभाइन कमेडी’ पढेर युरोपेली अन्धकारको हजार वर्षे युग थाहा भयो । म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास पढेर रुसी समाजको अत्याचार थाहा भयो । कृष्ण धराबासीको ‘झोला’ कथा पढेर हो नि मित्र सतीप्रथाको गहिराई बुझिएको । कर्ण शाक्यको ‘सोच’ कृतिले चुरोटको करले अस्पताल बन्छ भन्ने थाहा भएको हो । देवकोटाका कृतिहरूले हामीलाई समाज चिनाएका छन । समाजभित्रका सुन्दर कुरूप पाटापक्षहरू देखाएका छन । ताना शर्माको ‘बेलायततिर बरालिंदा’ कृति पढेर तिमी पनि बेलायत गएका पक्कै छौ होला मित्र । त्यसैले साहित्यलाई समाजको अनुहार हेर्ने दर्पण भनिएको हो । साहित्यमा त समाजका सबैथोक आएकै हुन्छन नि ।

घुम्नु मानिसको प्राकृतिक स्वभाव हो । नत्र सिन्धु घाँटीका हाम्रा पूर्वजहरू यसरी दुनियाभर कसरी छरिन्थे । घुम्नुबाटै पर्यटन र पर्यटकजस्ता शब्दहरू प्रचलनमा आएका होलान । आफूले नदेखेका, नचाखेका, नछोएका, नसुँघेका र नसुनेका कुराहरू देख्ने, चाख्ने,छुने, सुँघ्ने र सुन्ने चाहना मानिसको प्राकृतिक स्वभाव हो । यसकै परिणामस्वरूप मानिस नयाँनयाँ ठाउँ पुग्छ र त्यहाँको इन्द्रियग्राह्य अनुभव लिएर फर्किन्छ । यसको सूचना दिने सशक्त माध्यम साहित्य हुनसक्छ । साहित्यको प्रत्यक्ष प्रभाव मनसँग छ । नत्र आचार्य भरतमुनिले ‘ तत्रविभावानुभाव व्यभिचारिभाव संयोगात् रसनिष्पत्ति’ भन्ने सूत्र कसरी बनाउँथे र ?

पर्यटन भनेकै पर्यटकको रुचिको विषय हो । वैयक्तिक रुचिका पृथकपृथक पाटाहरूले पर्यटनका भेदहरूलाई असीमित बनाउन सक्छ । तर पनि यी सबै कुराहरू मनकै वरिपरि निरन्तर फन्को मारिरहन्छन । जसरी सौर्य मण्डलका ग्रहहरूले सूर्यको वरिपरि फन्को लगाइरहन्छन । साहित्य पनि मानव मनसँग र पर्यटन पनि मानव मनसँग सम्बन्धित छन । मन केन्द्रमा छ मित्र नवीनजी । मनकै वरिपरि साहित्य र पर्यटन निरन्तर घुमिरहन्छन । मेरो नीजि विचारसँग तिमी सहमत हुनै पर्छ भन्ने चाहिँ छैन है ।

‘जीवनका लागि मनोरञ्जन’ अपरिहार्य जस्तै छ मित्र नवीनजी । सुकुना बहुमुखी क्याम्पस पढ्दा हामी कन्यामको चिया बगानमा लुकामारी खेल्न पुगेको, सलकपुर बजार माथिको पानीटंकीका टुप्पामा चढेको, चाइनिज डाइङ मोटरसाइकल चढेर लेटाङ घुमेको सबै सबै समय अनुसार उपयोग गरेका मनोरञ्जनका उदाहरणहरू हुन । फरक यति हो मित्र कसैले घुमेर लेखेका कुराहरू पढ्ने कि आफैं घुमेर लेख्ने भन्ने मात्र हो । मनोरञ्जनको चाहना साहित्य र घुमफिर दुवैले पूरा गर्छन भन्ने मेरो बुझाइ छ । देवीचन्द्र श्रेष्ठको ‘ ताकलाकोटदेखि मानसरोवरसम्म’ नियात्रा पढेर मैले त मानसरोवरको स्वच्छ हावामा सास फेरेको छु । आँखाले भ्याइन्जेलसम्म ताललाई हेरेको छु । सायद तिम्रो पनि समान अनुभूति छ होला मित्र ।

पृथ्वीको उत्तरी र दक्षिणी घ्रुवलाई जोड्न मानिसले परिकल्पना गरेरै भए पनि देशान्तर रेखा खिचेका छन । ह्वाङ हो, याङ सिक्याङ र इरावदी नदीका फराकिला दुई किनारा जोड्न मानिसले भव्य पुल बनाएका छन । साइबेरियाको एउटा रुसी नागरिकलाई हनुमानढोका दरबारका ऐतिहासिक सामग्री हेर्ने रुचि साहित्यले जगाइदिन सक्छ । अस्ट्रेलियाको एउटा बृद्ध व्यक्ति नाम्चे बजारमा पुगेर सगरमाथाको अनुहार हेर्न सक्छ । साहित्यको नसनाता पनि मनसँग पर्यटनको नसनाता पनि मनसँग भए पछि साहित्यले पर्यटन प्रवर्धनमा टेवा दिने कुरामा तिमी ढुक्क हौ मित्र ।

तर प्रिय मित्र नवीनजी
हामीले हाम्रो पर्यटन प्रवर्धनका निम्ति साहित्य लेख्नै कहाँ सकेका छौं र ? तिमी घुम्छौ मात्र लेख्दैनौ । म पनि उस्तै छु । घुम्दै लेख्दै गरेको भए तिम्रा हाम्रा सिर्जना पढेर मानिसहरू कति विकट वस्तिहरूमा पुगिसक्थे होला । लेखेरै त हो नि सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर र कार्ल गुस्ताव युङलाई संसारले चिनेको होइन र ? नलेखेका भए कार्ल मार्क्सलाई कसले चिन्थ्यो ? सेक्सपियर हुन वा जर्ज बर्नाड सा सबै लेखेरै चिनिएका हुन । हामीले हाम्रो माटोलाई चिनेकै छैनौं । पहराका भीमकाय ढुंगाको मुटु छामेकै छैनौं । हाम्रा खोला र नदीहरू, झरना र वनजंगलहरू, बारीका सुर्का र खेतका गराहरू, पाखापखेरा र खोरियाहरू साहित्यमा कहाँ अटाएका छन र ?

म पिप्लेको माटोमा लडिबुडी खेलेर हुर्किएँ । अँधेरी खोला होस् वा पात्ले चहुरको वन ती सबैले मलाई चिन्छन नै । तीनतले भीरका सालिम्बाका एकएक बुच्काहरूले मलाई चिन्छन । खोकका निगुराका डाँठले पनि बिर्सिएका छैनन होला । तीनजुरेको डाँडो होस् वा गडीको डाँडो, जलजलेको जुवा डाँडो होस् वा श्रीजुङको म्यान्छ्यामको डाँडो । तिनीहरू सबैसँग चिनजान छ मेरो । तर खै मैले लेखेको तिनीहरूका बारेमा । मैले लेखेको भए पो तिमीले थाहा पाउँथ्यौ । अरूले थाहा पाउँथे । सायद मित्र नवीनजी तिम्रो यस्तै खाले प्रतीक्षा केराबारीले गरेको होला । याङसिला र लेटाङको माटो, वन र हावाले तिम्रो कलमको नीब खोजिरहेको हुनसक्छ । खदम खोलालाई सोधिहेर सायद उत्तर पाउने छौ ।

तिमी यार्चागुम्बा समाचारमा सुन्छौ र लोभिन्छौ तर त्यसका बारेमा कलम चलाउँदैनौ । राजेन्द्र सर्वहारा सभा खोलाका असला माछा जिब्रो पड्काएर खान्छन तर तिनका बारेमा लेख्दैनन् । प्रमेश घिमिरेको कलममा त्यहीँ छेऊको चाँगुनारायण मन्दिर अटाएको छैन । दीपा अधिकारी क्यानाडाका प्रकृतिमा परिवारसँग लुटुपुटु गर्छिन तर ती घुमेका अनुभवहरूलाई उनको कलमले समेटेकै छैन । राजेन्द्र चाँपागाईले खै दोमुखा र कन्काइ माइका बारेमा कलम चलाएका । टेकराज एक्चाइ मगरले देवीझोडालाई शब्दमा कैद गरेकै छैनन् । अमरजंग कठेतले अमरदहलाई खै शब्दमा उतारेका ।
तिमी पनि उस्तै छौ । म पनि उस्तै छु । अरूको हालत पनि उस्तै छ । अनीता बराललाई दन्तकाली र बुढासुब्बाको प्रकृतिले छोएकै छैन । अनि कसै न कसैले नलेखिदिए कसरी थाहा हुन्छ र नयाँनयाँ ठाउँहरूका बारेमा । सुजीता खनालको कलमले विराटनगर र सलकपुरलाई खोई शब्दमा उतारेको ?

चौधौं शताब्दीका विद्वान् विश्वनाथले साहित्य दर्पणमा साहित्यका बारेमा भनेका छन ।
‘सन्ध्यासूर्येन्दुरजनीप्रदोषध्वान्तवासराः
प्रातर्मध्याह्नमृगयारात्रिवनसागराः
संभोगविप्रलम्भौ च मुनिस्वर्गपुराध्वराः
रणप्रयाणो यज्ञमन्त्रपुत्रोदयादयः
वर्णनीया यथायोगं सांगोपांगा अमी इह ।’

मित्र नवीनजी विश्वनाथको यो तर्कलाई मसिनो गरी हेर्ने हो भने साहित्यमा साँझ, सूर्य, रात्रि, बिहान, शिकार, वन, पहाड, ऋतु, सागर, मिलन, विछोड, स्वर्ग, नर्क, युद्ध, यज्ञ, सन्तान आदि इत्यादिको वर्णन हुनुपर्ने कुरा समेटिएका छन । यी शब्दहरूलाई मात्र चिन्तन मनन् गर्ने हो भने साहित्यले पर्यटनलाई मलजल प्रदान गर्छ नै । जस्तो कि युद्ध पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, पर्वतारोहण पर्यटन, खेलकुद पर्यटन, राजनीतिक पर्यटन आदि इत्यादि । पर्यटन व्यवसायकै कारण थाइलेन्ड, सिंगापुर र स्वीजरल्यान्डको अर्थतन्त्र उकालो लाग्यो । स्पेन, ब्राजिल र केन्याले त यौन पर्यटनबाट मुलुकको अर्थतन्त्र आश्चार्यजनक रूपमा बृद्धि गरे ।

चाल्स डार्बिनको बिगल जहाजयात्राले विकासवादी सिद्धान्तको प्रतिपादन भयो । अंग्रेजीमा एउटा भनाइ छ – यु डेभ्लोप ए सेम्पेथी फर अल ह्युमन विङ्स ह्वेन यु ट्राभल अ लट अर्थात् यदि तिमीले धेरै यात्रा गरेका छौ भने हरेक मानिसप्रति सहानुभूतिको भावना विकास गर्नेछौ । मानिसको हृदय विराट बनाउने तागत भ्रमण र साहित्यमा हुन्छ । तिमी गम्भीर भएर सोच त मित्र यी दुवै कति निकट छन ।

प्रिय मित्र नवीनजी यसबारेमा एउटा सानो पत्रमा सबै कुरा समेट्न म असमर्थ छु । तिमीसँग दिनरातसँगै बसेर कुनै दिन गफगाफ गरौंला । ईश्वरले त्यो दिन चाँडै जुराइदिऊन । आजलाई बिट मारें ।

उही तिम्रो पूर्व सहपाठी
उद्धव लुइटेल
ताचिकावा, टोकियो, जापान
२०७७ आश्विन ८ बिहिबार


प्रकाशित | ८ आश्विन २०७७, बिहीबार १६:५२