एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन : अगस्ट २० भित्र कार्यपत्र पेश गरिसक्न आह्वान

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलनको लागि अगष्ट २० भित्र कार्यपत्र पेश गरिसक्न आह्रवान गरिएको छ । आगामी सेप्टेम्बर ५ र ६ मा क्षेत्रीय भेलाको अवसरमा आयोजना गरिन लागिएको विज्ञ सम्मेलनको लागि विभिन्न कार्यपत्र प्रस्तुत गरिने भएकाले कार्यपत्र पेश गर्ने समयसिमा २० तारिखभित्र तोकिएको हो ।

एनआरएनए अमेरिकाज् क्षेत्रीय समितिले गठन गरेको विज्ञ समितिको बैठकले अमेरिका, क्यानडा, मेक्सिकोसहित अमेरिकाज् क्षेत्रमा पर्ने २३ देशहरुमा बसोवास गर्ने नेपाली विज्ञहरुसँग कार्यपत्र आह्वान गर्ने निर्णय गरेको हो । एनआरएनए अमेरिकाज् क्षेत्रीय समिति संयोजक राजन त्रिपाठीको संयोजकत्वमा मूल आयोजक समिति र सो समिति अन्तर्गत डा. लक्ष्मी पाठकको नेतृत्वमा डा.आमोद पोख्रेल र खाद्य बैज्ञानिक नारायण घिमिरे रहेको विज्ञ समिति गठन भएको छ । सोमबारको विज्ञ समितिसहित थिंक ट्यांक ग्रुपको बैठकले सेप्टेम्बर ५ र ६ तारिकमा तय भएको विज्ञ सम्मेलनका लागि कार्यपत्र बुझाउने अन्तिम मिति अगष्ट २०सम्मलाई तोक्ने निर्णय गरेको हो ।

बैठकले तीनवटा सेसनमा विज्ञहरुका कार्यपत्रबारे छलफल गर्ने र एउटा सेसनमा ४ वटा कार्यपत्र समावेश गर्ने निर्णय पनि गरेको छ । हरेक सेसनका लागि तय भएका विषयमा छलफलको संयोजकहरु तोकिनेछ । जसअनुसार, कोभिड १९ र यसले अर्थतन्त्रमा पार्ने असर शीर्षकको लागि एटर्नी डिल्ली भट्ट अमेरिका, पब्लिक हेल्थ एण्ड मेडिसिनमा डा.श्याम थापा अमेरिका, नलेज एण्ड स्कील इन नर्सिंग प्राक्टिसमा नर्स पार्वती पाण्डे क्यानडालाई संयोजक तोकिएको छ ।

त्यसैगरी इन्जिनियरिंग, पूर्वाधार विकास र सार्वजानिक सुरक्षामा इन्जिनियर केदार श्रेष्ठ, वातावरण, विज्ञान तथा प्रविधिमा वातावरण पत्रकार सहजमान श्रेष्ठ अमेरिका, शिक्षा, सामाजिक सुदृढीकरण र न्यायिक विकासमा डा.हरि गुरुङ्ग क्यानडा, कृषि, वन तथा एलाइड सेक्टरमा डा।कृष्णहरि गौतम क्यानडा, इनोभेसन, उद्यमशीलता र टेक्नोलोजी शेयरिंगमा डा।मनोज कार्की, अमेरिकाले सेसनको संयोजन तथा अध्यक्षता गर्ने तय भएको छ ।

अमेरिकाज् क्षेत्रीय समितिका संयोजक राजन त्रिपाठीले क्षेत्रीय भेला र विज्ञ सम्मेलन दुवैको तयारी तीब्र ढंगले भइरहेको जानकारी गराउँदै धेरैभन्दा धेरै कार्यपत्रको पनि अपेक्षा गर्नुभएको छ ।


प्रकाशित | २२ श्रावण २०७७, बिहीबार ०९:४५