चेल्सीमाथि लिभरपुलको शानदार जित

एजेन्सी : प्रिमियर लिग फुटबलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई हराएको छ । बुधबार राति एनफिल्डमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले हराएको हो ।

एनफिल्डमा उपाधि उचाल्नु अघि चेल्सीकाे पाेस्टमा लिभरपुलले ५ गोल गर्न सफल रह्यो । सुरुवातबाटै आक्रमक खेल पस्किएको लिभरपुलले एनफिल्डमा सुधारिएको प्रर्दशन गरेको थियो ।

खेलको सुरुवातमै लिभरपुलले ३–० को अग्रता बनाएको थियो । नाबी केईटाले २३ औंं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले ३८ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

जर्जिनियो विजनाल्डमले ४३ औं मिनेटमा लिभरपुललाई ३–० को अवस्थामा पुर्याएका थिए । मोहमद सालाहको पासलाई सदुपयोग गदैै उनले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका ओलिभर जिराउडले गोल गर्दै लिभरपुलको अग्रतालाई ३–१ मा झारेका थिए ।

खेलको ५५ औं मिनेटमा रोबर्टो फिर्मिन्होले लिभरपुलका लागि चौथो गोल गरे । अर्नोल्डको पासलाई सदुपयोग गर्दै फिर्मिन्होले दोस्रो हाफकाे सुरुवातमै लिभरपुलका लागि गोल गरे ।

चेल्सीका टमी अब्राहमले ६१ औं मिनेटमा खेललाई ४–२ को अवस्थामा ल्याए । क्रिस्टियन पुलिसिकले ७३ औं मिनेटमा चेल्सीका लागि गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर खेल सकिन ६ मिनेट अघि एलेक्स आक्सलेड चेम्बरलेनले गोल गर्दै लिभरपुललाई ५–३ को शानदार जित दिलाए ।

च्याम्पियन लिभरपुलले लिगमा एक खेल खेल्न बाँकी रहेको अवस्थामा ९६ अंक जोडेको छ । चौथो स्थानमा धकेलिएको चेल्सीको ६३ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा म्यान्चेष्टर युनाईटेड तेस्रो स्थानमा उक्लिएको छ ।

पाँचौ स्थानको लेस्टर सिटीले ६२ अंक सहित चेल्सी र युनाईटेडमाथि दबाब दिईरहेको छ । पछिल्लो नतिजाले च्याम्पियन्स लिगमा छनोट हुन चेल्सीमाथि अन्तिम खेलमा जित निकाल्नुपर्ने दबाब थपिएको छ । चेल्सीमाथि शानदार जित सहित लिभरपुलले एनफिल्डमा लिग च्याम्पियनकाे उपाधि उचालेकाे थियाे ।


प्रकाशित | ८ श्रावण २०७७, बिहीबार ०८:२३