विमानस्थल खुले पनि दैनिक १५ भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन नसक्ने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान खुले पनि दैनिक १५ भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्न नसकिने स्पष्ट पारेको छ । विमानस्थलले कोरोनाको जोखिमका कारण दैनिक १५ वटा मात्र अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताएको हो ।

कोरोना संक्रमणका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने र त्यसका लागि सामान्य अवस्थामा भन्दा बढी समय लाग्ने भन्दै विमानस्थलले सीमित उडानलाई मात्र अनुमति दिन सकिने बताएको हो ।

यस्तै अन्तर्राष्ट्रिय उडान गर्दा यात्रुले उडान समयभन्दा ४ घण्टाअघि नै विमानस्थल पुगिसक्नुपर्ने छ । कोरोना महामारी अघिसम्म अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले ३ घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो ।

यस्तै विमानस्थलले उडानका लागि आन्तरिक विमानस्थल तयारी अवस्थामा रहे पनि दैनिक ४० भन्दा बढी उडान भर्न नसकिने समेत बताएको छ । कोरोना भाइरसको महामारीअघिसम्म विमानस्थबाट दैनिक ७० भन्दा बढि अन्तर्राष्ट्रिय र ३ सयभन्दा बढी आन्तरिक उडान हुँदै आएका थिए ।

तर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि आन्तरिक उडानमा रोक लगाएपछि चार्टर्डबाहेकका उडान भएका छैनन् । तर मन्त्रिपरिषदले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उडान सुरु गर्ने निर्णय गरेसँगै विमानस्थलले तयारी सुरु गरेको हो ।


प्रकाशित | ७ श्रावण २०७७, बुधबार १९:३४