भक्तपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

भक्तपुर : भक्तपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–९, च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नम्बरको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गएराति मृत्यु भएको हो । ट्रकले पैदलयात्रु मोक्तानलाई मंगलबार राति ७ बजे दिएको ठक्करबाट घाइते मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार ०९:०६