नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाको विदाइ

काठमाडौँ : नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा विदाइ हुनुभएको छ । २०७५ भदौ १ गतेदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्माल्नुभएका सापकोटालाई आइतवार बिदाइ गरिएको हो ।

उहाँ नागार्जुन नगरपालिकाबाट बिदाइ भइ सुनसरीको इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनुभएको छ ।

२०५३ सााल पुस ७ गतेदेखि निजामति सेवामा प्रवेश गर्नुभएका सापकोटाले निजामति सेवामा २३ वर्ष पूरा गरिसक्नुभएको छ । सेवा अवधिभर पूर्णरुपमा कर्तव्यनिष्ठा भएर काम गर्दै आउनुभएको सापकोटा कर्मठ राष्ट्र सेवकको रुपमा परिचित रहँदै आउनुभएको छ ।

नगरपालिकाबाट बिदाई कार्यक्रममा सम्बोधन गर्दै सापकोटले यस अवधिमा नगरपालिकामा रहेर सेवाग्राहीको सेवा गर्दा आफूलाई खुसी लागेको स्मरण गर्दै कार्यकालभरी सबै क्षेत्रबाट सहयोग प्राप्त भएको बताउनुभयो ।

स्थानीय तहमा काम गर्दा जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्दा विकास निर्माण र सेवा प्रवाह प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने भन्दै उहाँले आफ्नो कार्यकालभरी सहयोग गर्ने सबै व्यक्तिलाई धन्यवाद दिनुभयो ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले ७५३ स्थानीय सरकार मध्ये नागार्जुन नगरपालिका उत्कृष्ट नगरपालिका भित्रै पर्ने भन्दै उहाँले कर्मचारी र जनप्रतिधिवीचको सहकार्यले धेरै काम गर्न सकिने स्पष्ट गर्नुभयो ।

सापकोटा भौतिक रुपमा नगरपालिकामा नभए पनि उहाँको कामले सधै उहाँ नागार्जुन नगरपालिकामै भएको महशुस गराउने भन्दै बस्नेतले सापकोटाको कार्यकालमा प्रशासनिक सुधार र विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण काम भएको स्मरण गर्नुभयो ।

नगरपालिका उपप्रमुख सुशीला अधिकारीले आगामी दिनमा सापकोटाको कार्यकालको सफलताको शुभकामना दिदै जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्दा मात्र विकास र सुशासन संवभ हुने बताउनुभयो ।

सो अवसरमा नगरपालिकाका वडाध्यक्ष, विभिन्न जनप्रतिनिधि, कर्मचारी लगायतले बिदाइ गर्दै सापकोटाको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


प्रकाशित | ११ जेष्ठ २०७७, आईतवार १७:५१