चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि डिस्चार्ज, नेपालमा उपचारपछि निको हुने ३५ पुगे

काठमाडौं : चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएकी छिन्। अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

अस्पतालमा राप्ती नगरपालिका–८ की ती महिलाका २७ वर्षीय छोरा समेत कोरोना संक्रमणपछि उपचाररत थिए। छोरा केही समय अघि नै उपचारपछि निको भएका थिए।

दुवैका अवस्था सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्नेछ। उनीहरु दुवै आमा छोरालाई राप्ती नगरपालिकालाई जिम्मा लगाइएको हो।

दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए। वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ३५ पुगेको छ। हालसम्म नेपालमा २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १३:२३