‘म्यारोडोना महान खेलाडी, मेस्सी होइन’

एजेन्सी:  इटालीका पूर्व डिफेन्डर फाबियो कानाभारोले अर्जेन्टिनाका डिएगो म्यारोडोना सर्वकालीन महान खेलाडी भएको बताएका छन् । चीनको राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक समेत रहेका कानाभारोले स्काई स्पोर्ट्ससँग कुरा गर्दै अर्जेन्टिनाका लियोनल मेस्सी भन्दा म्यारोडोना महान खेलाडी भएको बताए ।

कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी भन्दा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउने म्यारोडोना महान खेलाडी भएको चिनियाँ क्लब गोन्जाउका प्रशिक्षक कानाभारोको भनाई छ ।

‘म मेस्सीलाई धेरै सम्मान गर्छु । नयाँ पुस्तामा उनी उत्कृष्ट हुन् । तर, म्यारोडोना फरक छन् । किनकी फुटबल फरक छ,’ इटालीका विश्वकप विजेता कानाभारोले भने ।

बार्सिलोनाका फरवार्ड मेस्सी पछिल्लो पुस्ताका अर्जेन्टिनाका महान खेलाडी हुन् । तर, कप्तान मेस्सीले देशको लागि ठुला उपाधि दिलाउन सकेका छैनन् ।

क्लब फुटबलमा मेस्सीले विश्वका सबै ठुला उपाधि जितिसकेका छन् । क्लब फुटबलमा कीर्तिमान बनाएका छन् ।

म्यारोडोनाले भने अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका छन् । अर्जेन्टिनाले सन् १९८६ को विश्वकपको उपाधि जित्दा म्यारोडोना नायक थिए ।

‘मेस्सी शीर्षमा छन् तर म्यारोडोना अर्को विश्वमा छ । म उनलाई अन्य खेलाडीसँग तुलना गर्न सक्दिन । मैले पेलेलाई कहिले देखिन् । तर, मैले सात वर्ष म्यारोडोनाको हरेक खेल हेरेको छु,’ कानाभारोले थपे, ‘उहाँ उत्कृष्टमा एक होइन । उत्कृष्ट हुनुहुन्छ ।’

३४ वर्षीय मेस्सीले बार्सिलोनाका लागि १० ला लिगा जितेका छन् । यस्तै ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

म्यारोडोनाले पनि क्लब फुटबलमा थुप्रै उपाधि जितेका छन् । इटालियन क्लब नापोलीबाट २ पटक सिरी ए सहित युईएफए सुपर कप, कोप्पा इटालिया र सुपर कोपा जितेका छन् ।

यस्तै ५९ वर्षे म्यारोडोनाले बार्सिलोनाका लागि कोपा डेल रे, कोपा डी ला लिगा र सुपर कोपा स्पानाको उपाधि जितेका छन् ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार ११:०२