साउदी अरव, कुवेत र यूएईलाई ५/५ हजार डलर र साइप्रसलाई ३ हजार डलर निकासा गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तत्कालको लागि मध्यपूर्वका साउदी अरव, कुवेत र युनाइटेड अरब इमिरेट्स (युएई) लाई ५ /५ हजार र साइप्रसलाई ३ हजार डलर निकासा गर्ने निर्णय गरेको छ ।

एनआरएनएको पदाधिकारी बैठकले तत्कालको लागि मध्यपूर्वका सबैभन्दा धेरै समस्या देखिएका तीन देश र कोरोनाको कारण धेरै विद्यार्थी मर्कामा परेको यूरोपको साइप्रसलाई सहयोग गर्ने निर्णय गरेको हो ।

मध्यपुर्वको युएईमा झन्डै चार लाख नेपाली रहेको पाइन्छ । यूएईमा समस्यामा परेका नेपालीलाई एनआरएनए एनसिसीले राहत वितरण गरिरहेको छ ।

त्यस्तै,यूएईपछि समस्या देखिएको साउदी अरवमा पनि साढे तीन लाखको हाराहारीमा नेपाली रहेको पाइन्छ । त्यहाँ पनि समस्यामा परेका नेपालीलाई एनआरएनएले सम्पर्क गर्न आह्रवान गर्दै राहत वितरण गरिरहेको छ ।

त्यस्तै, ७० देखि ७५ हजार नेपाली रहेको कुवतेमा पनि एनआरएनएले विभिन्न ठाउँमा गोदाम बनाएर समस्यामा परेका नेपालीलाई राहत वितरण जारी राखेको छ ।

उता यूरोपको पूर्वी भूमध्यसागरमा पर्ने टापु देश साइप्रसमा ५ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको पाइन्छ भने विद्यार्थीबाहेक झण्डै २ हजार नेपाली घरेलु कामदार कार्यरत छन् । साइप्रसमा भने धेरै विद्यार्थीहरु समस्यामा परिरहेको पाइएको छ । त्यहाँ केहि विद्यार्थीले खाना खर्च समेत जुटाउन नसकेपछि साइप्रस मामला हेर्ने इजराइलस्थित नेपाली दूतावास र एनआरएनएले राहत वितरण गरिरहेको जनाएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तले संसारका थुप्रै गैरआवासीय नेपाली साथीहरुले राहत सामग्रीको अभाव भइरहेको जानकारी गराएपछि तत्कालको लागि अष्ठ्यारो परेका मुलुकमा रकम निकासा गरिएको जानकारी गराउनुभयो ।

अध्यक्ष पन्तले भन्नुभयो, ‘अझै धेरै ठाउँमा राहत सामग्री पठाउनुपर्नेछ। हाम्रो सानो सहयोगले पनि आपतको घडीमा ठूलो राहत पुग्न सक्छ । त्यसैले आआफ्नो तर्फबाट सहयोगमा जुट्न र सकेको योगदान गर्न सम्पूर्ण गैर आवासीय नेपालीमा हार्दिक आह्वान गर्दछु। अप्ठ्यारो परिस्थितिमा पनि सहयोग उपलब्ध गराइदिने मित्रहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’

एनआरएनएको राहत कोषमा २ करोड ७० लाख संकलन

एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनएको कोरोना कोषमा राहत संकलन हुने क्रम जारी रहेको जानकारी गराउनुभएको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार २४ अप्रिल सम्म कोषमा अहिलेसम्म २ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, पहिलो पटक संघले अनलाइनबाट सजिलै आफूले चाहेको जति रकम डेबिट या क्रेडिट कार्डबाट चन्दा दिन सकिने ब्यबस्था गरेको छ।

एनआरएनएले यस अघि नै नेपाल सरकारको राहत कोषमा १ करोड दिने निर्णय गरिसकेको छ भने त्यसपछि संकलीत रकम विदेशमा बस्ने नेपालीहरुको लागि मात्र खर्च गरिरहेको हो ।


प्रकाशित | १३ बैशाख २०७७, शनिबार १८:०४