झन्डै १० हजार नेपालीहरु रहेको युरोपेली मुलुक स्पेनमा कस्तो छ नेपालीको अवस्था ?

– बसन्त रानाभाट

बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणले युरोपेली मुलुक स्पेन बिगत ७ दिनदेखि “लकडाउन” भएको छ। अतिआवश्यक कामका अलवा घरबाहिर निस्कन समेत मनाही गरिएको छ। दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जानुले पनि घरभित्रै क्वारेन्टाईनमा रहेका मानिसहरु चिन्तित र अत्यालिएको महशुस गरेका छन्। बिनाकारण घरबाहिर निस्के वा स्थानीय प्रशासनले उर्दी गरेको नियम उल्लङ्घन गरेमा जरिवाना रकममात्र हैन जेलसम्म जानुपर्ने बाध्यता छ। कोरोना प्रकोपका कारण स्पेनमात्र हैन सिङ्गो युरोप नै विछिप्त बनेको छ। अझ युरोपमा प्रकोप विरुद्वको सबैभन्दा ठुलो लडाई ईटालीले लडीरहेको छ।

फ्रान्स,जर्मनी,बेल्जियम,अष्ट्रिया,स्विट्जरल्याण्ड,नेरल्यान्डस् लगायतका युरोपेली मुलुकहरुले सोहि समस्या झेलीरहेका छन्।

सरकारले गत मार्च १४ देखि मुलुकमा संकटकालको घोषणा गर्दै कोरोना नियन्त्रणका केन्द्रित रहने बताएको छ। तर दुई हप्ताका लागि भनिएपनि अझ यो अबस्था कहिलेसम्म लम्बिने हो भन्नेबारे अन्यौलता कायमै छ। “लकडाउन” को एक हप्ता बितिसक्दा पनि कोरोना नियन्त्रणमा कुनै उल्लेखनीय सुधार देखिदैन। अझ संक्रमणको आकार बढ़दै जानुले सबैलाई चिन्तित तुल्याएको छ। हालसम्म स्पेनमा झण्डै २५ हजारको संख्यामा (कोभिड–१९) संक्रमित भेटीएका छन् भने १ हजार ३२६जनाले ज्यान गुमाईसकेका छन्।

४ करोड ७० लाख मानिसहरु घरभित्रै बस्न बाध्य छन्। सडक -बाटोघाटो सुनसान देखिन्छन्। ठुला-ठुला व्यापारिक केन्द्र,पर्यटकले भरिभराउ बन्ने रमणीय स्थलहरु शुन्य देखिएका छन्। सार्बजनिक यातायातका साधनहरु न्यूनरुपमा संचालनमा आएका भएपनि प्राय: खालिजस्तै देखिन्छन्।

स्पेनमा आवासीय अधिकार पाएका (बैधरुपमा बस्ने) र नपाएका गरी झन्डै १० हजार नेपालीहरु रहेको अनुमान छ। तर म्याड्रिडस्थित नेपाली दूताबासले सन् २०१९ को स्पेनी सरकारी तथ्याङ्कलाई उल्लेख गर्दै दिएको जानकारी अनुसार यहाँ स्पेनमा ५ हजार ६४ नेपाली छन्। तर सो तथ्याङ्क बैधरुपमा बस्ने नेपालीहरुको मात्र हुनसक्ने नेपाली समाजका अगुवाहरुले बताउदै आएका छन्।

कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणको हालको अबस्थालाई हेर्दा रोजगारी पाईरहेका वा राम्रो ब्यबसाय संचालन गरिरहेका नेपालीहरुको भविष्य समेत संकटमा परेको छ। तर बिभिन्न मुलुकहरुले घोषणा गरेको सामाजिक सुरक्षाको योजनाले कामदार तथा ब्यबसायीहरुलाई केहि हदसम्म भएपनि संरक्षण गरेको देखिन्छ। तर आबासीय अधिकार पाई नसकेका अर्थात अवैधरुपमा बस्दै आएका नेपालीहरुलाई ठुलो संकट परेको छ।

युरोपेली मुलुक स्पेन,पोर्चुगल र ईटालीमा आवासीय अधिकारका (कागाज बनाउने प्रक्रियामा) रहेका नेपालीहरु संख्या बढी छ। कोभिड–१९ बढी संक्रमित भएको मुलुक ईटालीमा २ देखि ३ सयको संख्यामा कागाजी प्रक्रियाका लागि नेपालीहरु रहेको अनुमान गरिन्छ। तर स्पेन र पोर्चुगलमा भने ठुलो संख्यामा रहेका छन्।हजारौंको संख्यामा रहेतापनि यती नै भनेर अनुमान गर्न समेत मुश्किल छ।

जिविकोपार्जनका लागि पनि घण्टौ समय (तोकेको समयभन्दा बढी) दिएर काम गर्नुपर्दथ्यो। तर पछिल्लो अबस्थाका कारण उनिहरुकालागि आम्दानीको सम्पूर्ण स्रोत बन्द भएको छ। अहिलेकै अबस्था लम्बिदै जाने हो भने खानाबस्नकै निमित्त समस्या आउने चिन्ता छ। कुनै पनि किसिमको सरकारी सहयोग नपाउनु र कामकाज ठप्प हुनुले स्वभाबिकरुपमा आर्थिक समस्या देखिने निश्चित भएको हो।

संकटकालको अबस्थामा ब्यबसायीक कम्पनीहरु अस्थायी निलम्बनमा परेका छन्। यो आपतकालीन संकटको अबस्था नफुकेसम्म आवासीय अधिकारका लागि कागजी प्रक्रिया समेत प्रभावित हुने आकलन गरिएको छ।

ब्यबसायिहरु चिन्तित,आर्थिक मन्दीको सम्भावना

सन् २००८- २००९ ताका स्पेन ठुलो आर्थिक मन्दीको संकटमा थियो। तर झण्डै एक दशक यता स्पेनले ठुलो आर्थिक सुधार भएको थियो। रोजगारीको अबसर,ब्यापार ब्यबसायको राम्रो अबस्थाले पनि स्पेनमा रहेका नेपालीहरुको जीवनस्तरमा समेत सुधार आएको हो।तर कोरोनोको संकटसँगै ठुलो आर्थिकमन्दीको आकालन यहाँका स्थानीय मिडियाहरुले गरेका छन्।

स्पेनमा पछिल्ला केहि बर्षहरुमा ब्यबसाय गर्ने नेपालीहरुको संख्या पनि बढ्दै गएको छ। स्पेनभर गरी सामान्य बारहरुदेखि रेष्टुरेष्टसम्म गरी झन्डै सयको संख्यामा व्यवसायीहरु रहेको अनुमान छ। तर मुलुकभर संकटकालको अबस्थाले गर्दा ब्यबसायीक गतिबिधिकालागि अस्थायी निलम्बनमा परेका छन्।

सरकारले ब्यबसायी र कामदारका लागि सामाजिक सुरक्षाको ब्याकेज घोषणा गरेको भएतापनि त्यसले तङ्गिने अबस्था भने छैन। पर्यटकीय गतिबिधिका कारण फस्टाएका ब्यबसायहरु नियमित अबस्थामा फर्कन महिनौ लाग्ने अनुमान छ। युरोपेली मुलुकहरुले आ-आफ्नो सिमा बन्द गरेका छन्।संकटकाल फुकुवापछि पनि पर्यटकीय गतिबिधिहरु समान्य अबस्थामा फर्कन नसकेमा नेपाली ब्यबसायीहरुलाई पनि ठुलो चुनौती हुनसक्छ। युरोपभर नै ठुलो संख्यामा रोजगार गुम्ने सम्भावना रहेको आर्थिक बिज्ञहरुले आकलन गरेका छन्।

एनआरएनए स्पेनले खाद्यान्न बितरण गर्ने :-

कामकाजको अबस्था ठप्प हुने अहिलेको अबस्था लम्बिदै जादा नेपाली समुदायमा ठुलो प्रभाव पर्ने भन्दै एनआरएनए स्पेनले सहयोगको प्याकेज अघि सारेको छ। संघका अनुसार आबासीय अधिकार प्राप्त नगरेका (पेपर नभएका) तथा काम नभएका नेपालीहरुलाई खाद्यान्न बितरण गर्ने जनाएको छ। एनआरएनए अध्यक्ष दिनेश गुरुङले(देउकाजी) आगामी अप्रिल १ तारिखबाट प्याकेज बितरण गर्ने जनाएका छन्।

अध्यक्ष गुरुङले भने,”हामीलाई खाद्यान्न बितरणको प्याकेजका नेपाली राजदूताबास म्याड्रिडबाट सहयोग मिल्ने राजदूतको प्रतिवद्वता पनि छ। यस्तै संघको आईसिसि बैठकमा पनि यो बारे हामीले जानकारी गराउने छौ।”

यसैबीच संघले स्पेन सरकारले घोषणा गरेको सामाजिक सुरक्षायोजना अनुरुप कम्पनी तथा कामदारहरुले लिन सक्ने सुबिधाबारे एक सूचना जारी गर्दै नेपाली समुदायलाई जानकारी समेत गराएको थियो।

म्याड्रिड दूताबासबाट कन्सुलर सेवा बन्द

अहिलेको परिस्थितिमा स्वास्थ्य नै पहिलो प्राथमिकता रहेको भन्दै नेपाली राजदुतावास म्याड्रिडले कन्सुलर सेवा लगायत सम्पूर्ण काम बन्द गर्ने जनाएको छ। बिहिबार एक सूचना जारी गर्दै दूताबासले भनेको छ,”अहिलेको स्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कन्सुलर सेवा लगायत सम्पूर्ण काम बन्द गरिएको छ। तर स्पेनबासि नेपालीहरुको हित तथा सेवामा दूताबास सदैव कठीवद्व रहेको व्यहोरा जानकारी गराउदछौ।  दूताबासले अतिआबश्यक सेवाका लागि नियोग उपप्रमुख र सहचारीको सम्पर्क नम्बर भने उपलब्ध गराएको छ।

स्पेनमा लामो समयदेखि बस्दै आउनुभएको रानाभाट वरिष्ठ पत्रकार  हुनुहुन्छ ।

 


प्रकाशित | ८ चैत्र २०७६, शनिबार १९:५१