युरोकप स्थगित गर्न ईटालीको प्रस्ताव

एजेन्सी :  ईटाली फुटबल महासंघले सिरि ए फुटबलको सिजन पुरा गर्न युरो २०२० स्थगित गर्न आह्वान गरेको छ । कोरोना भाईरसका कारण स्थगित सिरि एको बाँकी खेल पुरा गर्न युरोकप स्थगित गर्न ईटालीको माग छ ।

महासंघका अध्यक्ष ग्रेबियल ग्रेविनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफुले सो प्रस्ताव लैजाने बताएका छन् । सिरि ए फुटबल गत मंगलबारबाट स्थगित छ । भाईरसका कारण ईटालीले सबैभन्दा ठुलो घाटा ब्यहोरेको छ ।

‘हामीले युरो च्याम्पियनसिप स्थगित गर्ने प्रस्ताव लैजादै छौ ।’ ग्रेविनाले भनेका छन् । ‘हामी सिरि एको अन्तिमसम्म पुग्न कोशिश गर्नेछौ ।’ उनले थपेका छन् ।

युईएफले मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसंग छलफल गर्दैछ । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म सञ्चालन गर्ने तयारी छ ।

ईटालीको फुटबल महासंघले यसअघि सिरि एको सिजन पुरा हुन नसक्ने बताएको थियो । तर ग्रेविनाले पछिल्लो समय जुन ३० सम्म लिग सक्ने आश व्यक्त गर्न थालेका छन् ।

पुर्व तालिका भन्दा एक महिना ढिलो गरि लिग सक्ने महासंघको विश्वास छ । ईटालीले तत्काल खेलाडीलाई कुनै प्रकारको ट्रेनिङमा सहभागी हुन सुझाव दिएको छ । ईटालीमा कोरोनाका कारण आईतबारसम्म ३ सय ६८ जनाको मृत्यु भईसकेको छ ।


प्रकाशित | ३ चैत्र २०७६, सोमबार १०:०८