कोरोना त्रास: अन्तिम श्रम स्वीकृति लिएका ५० हजार कामदार रोकिए

काठमाडौं :  कोरोना क्रासले अन्तिम श्रम स्वीकृति लिएका ४५ हजार श्रमिक विदेश उड्न नपाएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार १ महिनाको अवधिमा कतारका लागि १५ हजार नेपाली श्रम स्वीकृति लिए पनि रोकिएका छन् । नेपालबाट एकतिहाइ श्रमिक रोजगारीका लागि कतार जाने गरेका थिए ।

नयाँ श्रम स्वीकृति दिएका, घर विदामा आएका र व्यक्तिगत श्रम स्वीकृति लिएका ४५ हजारदेखि बढीमा ५० हजार नेपाली रोकिएको महानिर्देशक दाहालले बताउनुभयो ।

व्यक्तिगत र संस्थागत गरी दैनिक १ हजार ५ सयले श्रम स्वीकृतिका लागि आवेदन दिने गरेको विभागले जनाएको छ । नेपाली श्रमिकका रोजगार गन्तव्य देश मलेसिया, साउदी, कतार, यूएई, ओमान, कुवेत, जोर्डन र बहराइन हुन् ।

यी देशबाट घर बिदामा आएका अथवा घरायसी कामले स्वदेश फर्किएका श्रमिक पनि कोरोना भाइरसका कारण जान नपाएको विभागले जनाएको छ ।

त्यस्तै, साउदीले ३ वटा विमानस्थल प्रयोग गरेर मात्र विदेशी श्रमिक लिने गरेको छ भने बहराइनले ट्रान्जिट भएर आउन नेपाली श्रमिकलाई रोक लगाएको छ ।


प्रकाशित | २७ फाल्गुन २०७६, मंगलवार १९:३३