सरकारबाट बाहिरिने हल्लाको पछि नलागौं: अध्यक्ष यादव

खोटाङ: सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी सरकारबाट बाहिरिने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्र्दै यादवले सरकारबाट बाहिरिने कुरा सत्य नभएको बताउनुभयो ।

उहाँले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आएमा मात्र आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनुभयो ।  राजनीतिक कारण, मधेशी, आदिवासी, जनजाति, महिला, दलित र पिछिडिएका वर्गका मुद्दा अहिले पनि सम्बोधन हुन बाँकी रहेको बताउनुभयो । “हामीले उठाएका मुद्दालाई सम्बोधन गरेर जाने समझदारीअनुसार हामी सरकारमा गएका हौँ”, उहाँले भन्नुभयो, “जुन कामका लागि हामी सरकारमा समावेश भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला मात्र हाम्रो बाटो फरक हुन सक्छ ।”


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १४:०४