एनआरएनए नेतृत्वमा कुमार पन्तलाई सर्वसम्मत चयन गर्नुपर्छ : रामेश्वर साह

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) का अभियन्ता रामेश्वर साहले आगामी २०१९-२०२१ लागि कुमार पन्तको नेतृत्व सर्वसम्मत गर्नुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए अभियानमा स्थापना कालदेखि नै लाग्नुभएको पन्तको नेतृत्व सर्वसम्मत गर्नुपर्नेमा साहले जोड दिनुभएको हो ।

एनआरएनएको पूर्व उपाध्यक्ष समेत रहनु भएको साहले एनआरएनएको आगामी नेतृत्व चयन सहमतीकै आधारमा हुने भन्दै कुनै भ्रममा नपर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

‘कुमार पन्तको विकल्प एनआरएनए नेतृत्वमा सोच्न पनि सकिंदैन’, साहले भन्नुभयो, ‘एनआरएनए गैरराजनीतिक र गैर नाफामूलक संस्था भएकाले यहाँ कुनै राजनीतिकरण हुनु हुँदैन र एनआरएनएनभित्रैबाट सहमतीको प्रयास गर्नुपर्छ, नेपालका कुनै नेता वा पार्टीलाई नेतृत्व चयनको लागि गुहार्न खोज्नु गलत हो । यसको हामी सबैले डटेर विरोध गर्नुपर्छ ।’

साहले एनआरएनएभित्र भइरहेको राजनीतिकरण सह्य नहुने भन्दै एनआरएनमा कुमार पन्तको विकल्प नभएको समेत दोहोर्याउनुभयो ।

पछिल्लो समय एनआरएनभित्र असाध्यै राजनीतिकरण भइरहेकोमा चिन्ता ब्यक्त गर्दै साहले  सबैले सम्मान गर्ने भए पनि राजनीतिको नाममा नेतृत्वमा अगाडि बढ्न खोज्नु गलत भएको टिप्पणी गर्नुभयो ।

‘एनआरएनएमा अनुभव, योगदान, क्षमता र कार्यदक्षतालाई ध्यान दिदा अहिलेको लागि कुमार पन्त नै नेतृत्वको लागि उपयुक्त हुनुहुन्छ’, साहले भन्नुभयो, ‘एनआरएनएको नेतृत्वको लागि नेपालका राजनीतिक दल वा नेतालाई गुहार्नु सरासर गलत छ ।’

अन्तमा, साहले आगामी नेतृत्व चयन सहमतीकै आधारमा हुने भएकाले भ्रममा नपर्न समेत सबैमा आग्रह गर्नुभएको छ । एनआरएनमा कुमार पन्तले जर्मनीको कार्यसमिति हुँदै यूरोप संयोजक, आइसिसी महासचिव र दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी समाली सक्नुभएको छ ।


प्रकाशित | १० आश्विन २०७६, शुक्रबार २०:४५