जर्मनीमा ‘खोरिया खेती’ पुस्तक विमोचन

जर्मनी: नेपालको मकवानपुरलगायतका जिल्लामा वसोवास गर्दै आएका चेपाङ जातिले परम्परागत रुपमा गर्दै आएको खोरिया खेती प्रणालीको विषयमा पत्रकार कृष्ण अधिकारीले लेख्नुभएको पुस्तक ‘खोरिया खेती अभ्यास र प्रभाव’ को जर्मनीको कोलोन शहरमा आयोजित २१ औं गैरसरकारी सम्मेलनमा विमोचन गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफर र नेपालका लागि जर्मनीका महावाणिज्यदूत राम प्रताप थापाले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।

सो अवसरमा राजदूत सेफरले पिछडिएका समुदायले परम्परागतरुपमा गर्दै आएको खोरिया खेतीको अभ्यासलाई निरन्तरता दिँदै आधुनिक सीप र ज्ञानको प्रवद्र्धनको माध्यमबाट उनीहरुको जीवनस्तरमा सुधार ल्याउन पुस्तक उपयोगी हुने विशवास व्यक्त गर्नुभयो । महावाणिज्यदूत थापाले चेपाङ समुदायको मौलिकपनलाई जगेर्ना गर्दै खोरिया खेतीलाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिने धारणा राख्नुभयो ।

पुस्तकका लेखक राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीले मकवानपुर जिल्लाको उत्तरपश्चिम भेगमा वसोवास गर्ने चेपाङ तथा तामाङ समुदायले वर्षौंदेखि गर्दै आएको खोरिया खेतीको अभ्यासलाई केन्द्रित गरी तयार गरिएको यस पुस्तकले कृषि वनको अवधारणाअनुसार निर्वाहमुखी कृषिलाई निर्यातमुखी कृषिमा बदल्न सकिने सम्भावनालाई पुस्तकमा उजागर गर्न खोजिएको बताउनुभयो ।


प्रकाशित | १५ भाद्र २०७६, आईतवार ११:१९