वायु सेवा निगम सुधार्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं : सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रिस्तरको) आजको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा लेखा विज्ञ (चार्टर एकाउण्टेण्ट) सुवोधरकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहनुभएको छ । कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन कार्ययोजनासमेत पेश गर्ने जिम्मेवारी दिइएको छ ।

उक्त कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययनको प्रतिवेदन विश्लेषण गर्ने, निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने तथा निगमको कानूनी, संस्थागत संगठनात्मक, व्यवस्थापकीय एवम् व्यावसायिक क्षमतामा रहेका समस्याको पहिचान तथा विश्लेषण गर्नेछ । उल्लिखित सबै पक्षहरुमा गर्नुपर्ने तत्कालीन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्ने, निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिनसक्ने पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन नसकेको अवस्थामा अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा वृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक भएको मन्त्रालयको ठहर छ ।

यसअघि पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले निगमको विद्यमान व्यवस्थापनमा देखिएको अन्यौलग्रस्त अवस्थालाई सुधार गरी सेवालाई प्रभावकारी बनाउन सुधार योजना ल्याइने बताउनुभएको थियो । मन्त्री भट्टराईले यही साउन १५ गते पदभार ग्रहणका क्रममा निगमलाई ‘वाह १ नेपाल एयरलाइन्स’ भन्ने बनाउने उद्घोष गर्नुभएको थियो ।

आफ्नो पदबहालीको प्रतिबद्धताअनुरूप निगमको साख उकास्न सबैखाले सुधारात्मक काम गर्ने उहाँले उल्लेख गर्नुभयो । पर्यटनमन्त्री भट्टराईले भन्नुभयो, “अहिलेको ‘हट केक’ नेपाल वायु सेवा निगम हो, मैले जिम्मेवारी सम्हालेको दिन जे भनेको थिएँ त्यही गर्नेछु किनकी निगम सुधार्ने विषय त्यत्तिकै बोलेको होइन र एक साताभित्र सबैभन्दा धेरै बैठक र छलफल निगमसँग जोडिएका सबै निकाय र पक्षसँग गरेको छु, छिट्टै सुधार आउने गरी काम थालिनेछ ।”

उहाँले निगम व्यवस्थापन सुधारका लागि अब अलमलिने अवस्था नरहेको भन्दै निगम सुधारका लागि घोषित कार्यदलको एक महिनाको अवधिमा आउने सुझावअनुरुप निगमलाई सुधारको काम अघि बढाइने उल्लेख गर्नुभयो ।

निगमका आन्तरिक उडानका लागि सबै जहाज पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय उडानको गन्तव्य विस्तार गर्दै निकट भविष्यमै चीन, दक्षिण कोरियालगायत गन्तव्यमा सेवा सञ्चालन गरिने मन्त्री भट्टराईको भनाइ थियो ।

उड्डयन विद्यालय स्थापना गरिने

सरकारले स्वदेशमै कम खर्चमा विमानचालक ९पाइलट० उत्पादनका लािग उड्डयन विद्यालय ९फ्लाइङ स्कुल० स्थापना गर्ने भएको छ । पर्यटनमन्त्री भट्टराईले देशभित्रै पाइलट उत्पादन गर्न र उनीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने उद्देश्यका लागि उडड्यन विद्यालय ९फ्लाइङ स्कुल० स्थापना गर्ने योजना रहेको सुनाउनुभयो ।

अहिले रु ५० लाखभन्दा बढी खर्च गरेर पाइलट पढ्न विदेश जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले त्योभन्दा कम खर्चमै देशभित्रै पाइलट अध्ययनको व्यवस्था गर्न विद्यालय स्थापना गर्ने सोच बनाइएको स्पष्ट पार्नुभयो ।

त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य निजी वायुसेवा कम्पनीहरुबाट लगानी जुटाउने जनाइएको छ । उहाँले उड्डयन विद्यालयसम्बन्धी विस्तृत कार्ययोजना केही दिनभित्रै ल्याइने जानकारी दिनुभयो । रासस


प्रकाशित | २२ श्रावण २०७६, बुधबार १६:२३