प्रधानमन्त्रीसँग मन्त्रीहरुको कार्यान्वयन सम्झौता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई अवलम्बन गर्नका लागि सूत्र नै बनाऊँ, मातहतको नजरमा नगिरौँ । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।”

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामलाई तीव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसात् गर्न पनि आग्रह गर्नुभयो । “हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन शुरु ग¥यौँ भने साउनको शुरुबाटै काम गर्न सकिन्छ भन्ने सोचले हो”, उहाँले भन्नुभयो, “तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने ग¥यो भने फेरि ठेक्का लाग्दा नलाग्दै पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुँदैन । समय खेर फाल्नु भएन ।”

प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना कार्यान्वयन सम्झौता भएकाले अब कामले तीव्रता पाउने विश्वास व्यक्त गर्नुभयो । “मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिवहरुबीच पनि सम्झौता भएर कामको गतिले तीव्रता लिने विश्वास लिएको छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारीहरुका विरुद्धमा अभूतपूर्व ढङ्गले अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारीहरुलाई मुद्दा चलाइएको छ । कारवाही दृढताका साथ अघि बढाइएको छ ।”

कतिपय बेला संसद्मा प्रतिपक्षीहरुले अनावश्यक रूपमा व्यवधान खडा गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढङ्गले अघि बढाउनेमा वर्तमान सरकार दृढ छ ।” जनताले स्थिरताका लागि बहुमत दिएकाले वर्तमान सरकार जनताप्रति उत्तरदायी भएर काम गर्ने उहाँको भनाइ थियो ।

आजको बैठकमा राजधानीमा उपलब्ध सबै मन्त्रीहरुले प्रधानमन्त्रीसँग प्रतिबद्घता व्यक्त गर्दै कार्ययोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभयो भने यस्तै सम्झौता सचिवहरुले पनि मन्त्रीहरुसँग गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

सम्झौताको परिपाटी नेपालको इतिहासमै पहिलोपटक शुरु गरिएको पनि उहाँले बताउनुभयो । उहाँले यसबाट विकास निर्माणका कामको गति बढ्ने विश्वास लिइएको पनि बताउनुभयो ।


प्रकाशित | १५ श्रावण २०७६, बुधबार १८:००