भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा

एजेन्सी : न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार रोमान्चक बनेको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।

ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । जडेजाले ७७ तथा धोनीले ५० रन बनाए । निकै खराब सुरुवात गरेको भारतको इनिङ्स जडेजा र धोनीले उकासेका थिए ।

मात्र ५ रन जोड्दा ३ विकेट गुमाएको भारतका लागि धोनी र जडेजाले सातौं विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । यस्तै भारतका हार्दिक पाण्डया र ऋषब पन्तले समान ३२र३२ रन बनाए । कप्तान विराट कोहली, ओपनर रोहित शर्मा र लोकेश राहुल एक एक रनमा आउट भए ।

न्युजिल्याण्डका म्याट हेनरीले ३ विकेट लिए । यस्तै ट्रेण्ड बोल्ट र मिचेल स्टाननरले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । तर, न्युजिल्याण्डले भारतविरुद्ध दुई दिन ब्याटिङ गरेको थियो ।

मंगलबार न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित भएको थियो । वर्षाले खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

बुधबार न्युजिल्याण्डले त्यहि स्थितिबाट ब्याटिङ गर्दै भारतलाई २४० रनको लक्ष्य दिएको थियो । बुधबार न्युजिल्याण्डले थप २८ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले । टेलरले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विलियम्सनले ६७ रन बनाए । यस्तै हेनरी निकोलसले २८ तथा कोलिन डी ग्राण्डहोमले १६ रन जोडे ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १र१ विकेट लिए ।

अब न्युजिल्याण्डले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ । साबिकको विजेता अष्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल बिहिबार हुनेछ ।


प्रकाशित | २६ असार २०७६, बिहीबार ०९:५२