१२५ स्थानीय तहले अझै बुझाएनन् बजेट विवरण

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १२५ स्थानीय तहले अझै पनि बजेट विवरण नबुझाएको पाइएको छ । गत असार ११ गते सबै स्थानीय तहलाई तीन दिनभित्र गाउँसभा÷नगरसभामा पेश गरेको बजेट विवरण पठाउन निर्देशन दिएको थियो । मन्त्रालयले बजेटको विवरण पठाउन निर्देशन दिएपछि ६२८ स्थानीय तहले विवरण पठाएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महीनाको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार प्रायः सबै स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गरेका थिए । मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।


प्रकाशित | १८ असार २०७६, बुधबार ०९:१६